२०८३ मंसीर १ गते , सोमबार
मोरङमा जुवातास खेलिरहेका नेपाली र भारतीयसहित सात पक्राउ
मोरङको रतुवामाईमा जुवातास खेलिरहेको अवस्थामा तीन नेपाली र चार भारतीय नागरिकसहित सात जना पक्राउ परेका छन् ।
रतुवामाई नगरपालिका–७ कपर सुख्खा बोका टोलस्थित एक सुनसान घरमा सोमबार बिहान ३ः३० बजे इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले छापा मार्दा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा रतुवामाईका अरुणकुमार गनगाई, उपेन्द्रप्रसाद गनगाई र कपिल साह तथा भारतको किशनगन्जका अजय सोनार, सुरज शाह, राजु सोनार र सुरज मण्डल रहेका छन् ।
प्रहरीले जुवाको खालबाट नेपाली रुपैयाँ १५ हजार ७०० र भारतीय रुपैयाँ १९ हजार ५२० गरी कुल ३५ हजार २२० रुपैयाँ, तीन बुङ तास, सात थान मोबाइल र चारवटा मोटरसाइकल बरामद गरेको छ ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पक्राउ परेका सातै जनालाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर थप अनुसन्धान भइरहेको छ ।