२०८३ मंसीर २ गते , मंगलबार

हात्तीको त्रास : बाहुण्डाँगीका किसानलाई धान काट्न सघाउँदै प्रहरी

sajilo news
झापा
२०८३ कार्तिक ३० गते , आईतबार
हात्तीको त्रास : बाहुण्डाँगीका किसानलाई धान काट्न सघाउँदै प्रहरी

झापाको मेचीनगर– ४ बाहुण्डाँगीमा प्रहरीहरूले किसानलाई धान काट्न सघाउन थालेका छन् । भारतबाट आउने जङ्गली हात्तीको बथानले पाकेको धानबालीमा क्षति पुर्‍याउन थालेपछि किसानको बाली बेलैमा भित्र्याउन सुरक्षाकर्मीहरूले सहयोग गर्न थालेका हुन् । आज पहिलो दिन २० जना सुरक्षाकर्मीहरूले धान काट्न सघाएका थिए । १४ जना सशस्त्र प्रहरी र ६ जना नेपाल प्रहरीले दिनभरि धान काटिदिएका छन् ।

२० जना सुरक्षाकर्मी , जनप्रतिनिधि , मानव–हात्ती द्वन्द्व व्यवस्थापन समितिका सदस्य, आरआरटी टोली र स्थानीय किसान गरी ३० जनाले मिलेर आज दिनभरि करिब ३ बिघा खेतको धान काटेका छन् । स्थानीय खेमनारायण घिमिरेको करिब ३ बिघा खेतको धान सबैले मिलेर काटिएको वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्कीले बताए । हात्तीको बथानबाट जोगाउनका लागि छिटोभन्दा छिटो खेतको धान भित्र्याउन सामूहिक रुपमा धान काटेर सहयोग गर्ने क्रम निरन्तर चल्ने उनले बताए ।

हात्तीको जोखिम बढिरहेका बेला किसानलाई समयमै धान भित्र्याउन सहयोग पुर्‍याउने उद्देश्यले सामूहिक रूपमा खेतमा उत्रिएको वडा अध्यक्ष कार्कीले बताए। उनका अनुसार किसानको दुःखमा साथ दिन सुरक्षाकर्मी र स्थानीय समुदायले देखाएको सक्रियता प्रशंसनीय छ।

धान काट्न खटिएका सुरक्षाकर्मी तथा सहयोगीलाई वडा कार्यालयका तर्फबाट खेतमै पुगेर खादा लगाई सम्मान तथा धन्यवादसमेत व्यक्त गरिएको छ। किसानको वर्षभरिको मेहनत हात्तीको आक्रमणबाट नष्ट हुन नदिन गरिएको यो प्रयासले स्थानीयस्तरमा सहकार्यको उदाहरण प्रस्तुत गरेको छ।

भारतबाट नेपालतर्फ हात्तीको आवागमन बढ्ने समयमा बाहुण्डाँगीका किसानलाई पाकेको बाली जोगाउनु चुनौतीपूर्ण बन्दै आएको छ। हात्तीको बथान खेतमा पस्ने डरले किसान रातभर जाग्राम बस्नुपर्ने अवस्था छ। यस्तो परिस्थितिमा सुरक्षाकर्मी र स्थानीय समुदायको संयुक्त प्रयासले किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सुरक्षा निकायको जिम्मेवारी शान्ति सुरक्षा कायम गर्ने, सीमा सुरक्षा, चोरी–तस्करी तथा अपराध नियन्त्रणमा मात्र सीमित नहुने बताए। नागरिकलाई विपद् र संकट परेको समयमा उनीहरूको दुःखमा साथ दिनु पनि सुरक्षाकर्मीको महत्त्वपूर्ण दायित्व भएको उनको भनाइ छ।

’सुरक्षा निकायप्रति विभिन्न समयमा नकारात्मक टिप्पणी र आरोप लाग्ने गरेका छन्। तर, नागरिकको दुःखमा साथ दिनु र मानवीय सेवामा जुट्नु पनि सुरक्षा निकायको जिम्मेवारी हो,’ पोखरेलले भने।

उनले मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न र किसानको बाली सुरक्षाका लागि सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। यसका लागि जिल्ला प्रशासन कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, जिल्ला प्रहरी कार्यालय, डिभिजन वन कार्यालय, स्थानीय सुरक्षा निकाय, मानव–हात्ती द्वन्द्व व्यवस्थापन समिति, आरआरटी टोली, जनप्रतिनिधि र स्थानीय किसानलाई सामूहिक अभियानमा जुट्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार