२०८३ मंसीर १ गते , सोमबार

थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

sajilo news
रासस
२०८३ मंसीर १ गते , सोमबार
थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

थाइल्यान्डको पाटोङमा सोमबार बिहान चारतले व्यावसायिक भवनमा भीषण आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ३ः३० बजे रेस्टुरेन्ट तथा भाडामा बस्नेहरूका लागि आवासीय सुविधा रहेको भवनमा आगलागी भएको थियो ।

आगलागी नियन्त्रणमा लिन दमकलकर्मीलाई करिब दुई घण्टा लागेको थियो । आगो नियन्त्रणमा लिएपछि भवनभित्र ११ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा थाइल्यान्ड र म्यानमाका नागरिक रहेका छन् ।

आगलागीमा परी घाइते भएका १६ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । उनीहरूमा धुवाँका कारण श्वासप्रश्वासमा समस्या तथा सिसा फुट्दा लागेको चोटपटक रहेको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ । थाइल्यान्डमा विशेषगरी बार, रात्रिक्लब तथा मनोरञ्जनस्थलको सुरक्षा व्यवस्थालाई लिएर लामो समयदेखि प्रश्न उठ्दै आएको छ ।

यसअघि जुलाईमा बैंककस्थित एक व्यस्त बारमा विद्युतीय सर्ट सर्किटका कारण आगलागी हुँदा करिब ४० जनाको मृत्यु भएको थियो । त्यस्तै, सन् २००९ को नयाँ वर्ष उत्सवका क्रममा राजधानी बैंककस्थित सान्तिका क्लबमा आगलागी हुँदा ६७ जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएका थिए ।

लगातार भइरहेका यस्ता घटनाले थाइल्यान्डमा भवन तथा मनोरञ्जनस्थलको अग्नि सुरक्षा र आपत्कालीन उद्धार व्यवस्थामाथि पुनः गम्भीर प्रश्न उठाएको छ ।

सम्बन्धित समाचार