२०८३ मंसीर २ गते , मंगलबार

झापामा हर्षोल्लासका साथ मनाइयो छठ पर्व, मेची नदीमा हजारौँको जमघट

sajilo news
पार्थ मण्डल
२०८३ कार्तिक ३० गते , आईतबार
झापामा हर्षोल्लासका साथ मनाइयो छठ पर्व, मेची नदीमा हजारौँको जमघट

झापा ।  सीमावर्ती मेची नदीसहित झापाका ५३ स्थानमा सामूहिक रूपमा छठ पर्व हर्षोल्लासका साथ मनाइएको छ । श्रद्धा, भक्ति र निष्ठापूर्वक व्रत बसेका व्रतालुहरूले आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठ पर्व मनाएका हुन् । भोलि विहान उदाउँदो सूर्यलाई अघ्र्य चढाएर यस बर्षको छठको विधिवत रुपमा समापन गर्नेछन्। 

झापामा सबैभन्दा ठूलो जमघट सीमावर्ती भद्रपुरस्थित मेची नदी किनारमा देखिएको थियो । नेपाल र भारतका नागरिकले मेची नदीको दुवै किनारमा एकसाथ छठ पर्व मनाउँदा नदी किनार भक्तजनले भरिभराउ भएको थियो।

भद्रपुर नगरपालिका–५ स्थित मेची नदीको पश्चिमी किनारमा नेपाली नागरिक र पूर्वी किनारमा भारतीय नागरिकले संगम स्थलम बनाएर पूजा आराधना गरेका थिए। मसानघाटदेखि मेची पुलको मुख्यद्वार हुँदै देवीबस्तीसम्म करिब दुई किलोमिटर क्षेत्रमा दुवै देशका नागरिकले घाट सजाएर सूर्यदेवको उपासना गरेका थिए। सीमा नाकाको दुवैतर्फ एकै समयमा मनाइएको छठ पर्वले धार्मिक आस्था मात्र नभई दुई देशबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध र आपसी सद्भावलाई समेत उजागर गरेको भक्तजनहरु बताउँछन्। उक्त क्षेत्रमा मात्रै करिब पाँच हजारभन्दा बढी पूजास्थल (घाट) निर्माण गरी व्रतालु तथा उनीहरूका परिवारजनले सूर्य भगवानलाई अघ्र्य अर्पण गरेका थिए। 

मेची पुलनजिकै मैथिल समाज भद्रपुरले सूर्य भगवानको अस्थायी मूर्ति स्थापना गरी विशेष पूजाआराधना गरेको थियो। त्यसैगरी युनिक समूहले देवीबस्तीमा स्थानीयस्तरमै सूर्य भगवानको मन्दिर निर्माण गरी पूजा आयोजना गरेको थियो।

छठ पर्वलाई थप आकर्षक बनाउन भद्रपुर नगरपालिकाले यस वर्ष पनि मेची नदी किनारमा सन्ध्याकालीन भजनसहित गंगा आरतीको आयोजना गरेको थियो। गंगा आरतीमा छठ अवलोकन गर्न आएका भक्तजनको उल्लेख्य सहभागिता रहेको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले जानकारी दिए।

यस वर्ष मेची नदी किनारमा मधेसी समुदायसँगै पहाडी, मारवाडी, बंगाली, राजवंशीलगायत विभिन्न समुदायका नागरिकले समेत उत्साहपूर्वक छठ मनाएका थिए । विभिन्न समुदायको सहभागिताले मेची नदी किनार धार्मिक सद्भाव र सांस्कृतिक एकताको साझा स्थल बनेको थियो ।


मेची नदीमा छठ पर्व अवलोकन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत हजारौँ दर्शनार्थी आएको मैथिल समाज भद्रपुरका सचिव सुशील कर्णले जानकारी दिए। विशेषगरी मेची पुलमा उभिएर तस्बिर खिच्ने, भिडियो बनाउने तथा नेपाल–भारत दुवैतर्फका घाटको दृश्य अवलोकन गर्नेहरूको पनि उत्तिकै भीड लागेको थियो। छठ पर्वका क्रममा व्रतालु तथा भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै मेची नदी किनारमा व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरी गरी करिब साढे दुई सय सुरक्षाकर्मी परिचालन गरिएको थियो। सुरक्षाका लागि तालिमप्राप्त कुकुर र ड्रोनसमेत प्रयोग गरिएको थियो। सम्भावित स्वास्थ्य समस्यालाई ध्यानमा राखेर पूजा स्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक मोतिलाल योञ्जन तामाङले जानकारी दिए।  जिल्ला प्रशासन कार्यालय झापाका अनुसार जिल्लाका मेची, निन्दा, हडिया, बिरिङ, रतुवा, अदुवा, देउनियाँ, कनकाई र सानोमाईलगायत नदी तथा खोलाका ५३ स्थानमा सामूहिक रूपमा छठ पूजा आयोजना गरिएको थियो । तीमध्ये २१ स्थानमा ठूलो स्तरको छठ पूजा आयोजना भएको छ।

छठ पर्वलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको थियो। सोही योजनाअन्तर्गत जिल्लाभर नेपाल प्रहरीका एक हजार ५६ जना र सशस्त्र प्रहरी बलका ४३८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रशासन कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार