२०८३ भाद्र १७ गते , बुधबार

बिर्तामोडमा तीनवटा सवारीसाधन ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

sajilo news
झापा
२०८३ भाद्र १७ गते , बुधबार
बिर्तामोडमा तीनवटा सवारीसाधन ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

झापाको बिर्तामोडमा तीनवटा सवारीसाधन ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ रिजालगाउँका ३३ वर्षीय इन्द्रमणि अर्याल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउँसो करिब ३ः२० बजे पूर्व–पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–१ स्थित बिर्तामोड आँखा अस्पतालअगाडि बस ओभरटेक गर्ने क्रममा तीनवटा सवारी साधन ठोक्किँदा दुर्घटना भएको थियो ।

बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–०१८ प ५७५४ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकलले सोही दिशातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४७०७ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा बसको दायाँतर्फ ठोक्किएको थियो । बसमा ठोक्किएपछि मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको मे १० प ७२५७ नम्बरको १५० सिसीको एफजेड मोटरसाइकलसँग समेत ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा पल्सर मोटरसाइकल चालक अर्याल गम्भीर घाइते भएका थिए । उनको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । उनलाई बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको र उपचारको क्रममा दिउँसो ४ः१८ बजे मृत्यु भएको थियो । 

दुर्घटनामा एफजेड मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–२ का २० वर्षीय अनीश राजवंशी घाइते भएका छन् । उनको दाहिने खुट्टा र हातमा चोट लागेको छ । बोल्न सक्ने अवस्थामा रहेका राजवंशीको कञ्चनजङ्घा अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न बस, बस चालक विराटनगर महानगरपालिका–४ का ३८ वर्षीय गङ्गा श्रेष्ठ तथा दुवै मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनिको नियन्त्रणमा लिएको जनाइएको छ । 

सम्बन्धित समाचार