२०८३ भाद्र १७ गते , बुधबार

विपद्का बेला भद्रपुरको राधाकृष्ण रथयात्राको भेटी उद्धार कोषमा जम्मा गरिने

sajilo news
पार्थ मण्डल
२०८३ भाद्र १७ गते , बुधबार
विपद्का बेला भद्रपुरको राधाकृष्ण रथयात्राको भेटी उद्धार कोषमा जम्मा गरिने

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले देशमा ठूलो जनधनको क्षति भएकोले यस वर्ष झापाको भद्रपुरमा आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्राको भेटी रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ ।
यही भदौ १९ गते कृष्ण जन्माष्टमीका दिन पूजा–आराधना र भोलिपल्ट निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रामा संकलन हुने भेटी रकम विपद् प्रभावितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको भगवान् श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिका अध्यक्ष मुकेश मित्रुकाले जानकारी दिए । 
देश विपद्को गम्भीर संकटमा रहेका बेला विगतका वर्षमा जस्तो तामझाम नगरी रथयात्रालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। रथयात्रा भद्रपुरको पुरानो धार्मिक तथा सांस्कृतिक परम्परा भएकाले निरन्तरता दिनुपर्ने अवस्था रहेको बताउँदै अध्यक्ष मित्रुकाले भने, ’अहिले देश नै दुःखको घडीमा रहेकाले रथयात्रालाई भव्यताभन्दा पनि सेवा र सहयोगसँग जोड्ने निर्णय भएको छ ।’  
“रथयात्रा हाम्रो परम्परा भएकाले निरन्तरता दिनुपर्ने अवस्था छ । तर अहिले देश निकै दुःखको घडीमा छ। त्यसैले विगतका वर्षमा जस्तो तामझाम नगरी व्यवस्थित रूपमा रथयात्रा सञ्चालन गर्ने निर्णय गरेका छौँ,” उनले थपे ।
 रसुवा भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक घरबारविहीन भएकाले उनीहरूको राहतका लागि सहयोग जुटाउने उद्देश्यले रथयात्रालाई सहयोग अभियानसँग जोडिएको उनको भनाई छ  । भद्रपुरको ऐतिहासिक कृष्ण जन्माष्टमी तथा राधाकृष्ण रथयात्रामा प्रत्येक वर्ष ठूलो सङ्ख्यामा भक्तजन तथा सर्वसाधारणको सहभागिता हुँदै आएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको रथयात्रालाई यस वर्ष विपद्मा परेका नागरिकप्रतिको मानवीय सहयोग र सामाजिक उत्तरदायित्वसँग जोडेर सञ्चालन गर्न लागिएको समितिका सचिव सचिवमा निरशव प्रधानले जानकारी दिए । 
उनका अनुसार भद्रपुरमा २४औं पटक निकालिने श्रीकृष्ण रथयात्राको तयारी भइरहेको छ । भदौ २० गते श्रीकृष्ण भगवान् सवार रथको विशेष पूजा अर्चना पश्चात् भद्रपुर–५ स्थित लक्ष्मीनारायण मन्दिर अगाडिबाट निकालेर नगर परिक्रममा गरिने उनले बताए ।

सम्बन्धित समाचार