ग्लोबल ओरियन्सको बिर्तामोड कार्यालयमा प्रहरी छापा, ४१ जना पक्राउ
झापाको बिर्तामोडमा अवैध रूपमा स्वास्थ्य जाँच तथा औषधि बिक्री–वितरण गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा ग्लोबल ओरियन्सको कार्यालयमा प्रहरीले छापा मारेको छ । प्रहरीले छापामा मारेर ४१ जनालाई नियन्त्रणमा लिएको छ ।
बिर्तामोड नगरपालिका–५ स्थित बुद्धनगरमा रहेको ग्लोबल ओरियन्सको कार्यालयमा बुधबार दिउँसो करिब ३ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठकको नेतृत्वमा खटिएको प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
छापाका क्रममा इलाम घर भएका अर्जुनधारा मल्टी पर्पोजका सञ्चालक सुजन लिम्बू, ग्लोबल ओरियन्सका शाखा प्रमुख पीताम्बर कट्टेलसहित २२ जना महिला र १९ जना पुरुषलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले ओरियन्सको कार्यालयबाट विभिन्न प्रकारका औषधि, स्वास्थ्य जाँच गर्ने मेसिन, कागजात तथा केही नगदसमेत बरामद गरेको छ । पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।
प्रहरीका अनुसार शैक्षिक परामर्श तथा तालिम सञ्चालन गर्ने उद्देश्यले खोलिएको अर्जुनधारा मल्टी पर्पोज नामक कम्पनीसँग सहकार्य गरी ग्लोबल ओरियन्सले स्वास्थ्य जाँच तथा औषधि बिक्री–वितरण गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कक्षा १२ पढेका ग्लोबल ओरियन्सका शाखा प्रमुख कट्टेलले होलबडी चेकअप गर्ने भन्दै एउटा मेसिनबाट सर्वसाधारणको स्वास्थ्य जाँच गर्दै आएको प्रहरीको भनाइ छ । उनले स्वास्थ्य जाँच गरेबापत प्रतिव्यक्ति एक हजार रुपैयाँ शुल्क लिने गरेको बताइएको छ ।
उनीहरूले विभिन्न रोग निको पारिदिने भन्दै गाउँबाट आएका सर्वसाधारणलाई आकर्षित गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि अवैध रूपमा स्वास्थ्य जाँच तथा औषधि बिक्री–वितरण र नेटवर्किङ व्यवसायका नाममा सर्वसाधारणलाई ठगी गरेको विषयमा आवश्यक अनुसन्धानपछि कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।