२०८३ भाद्र १७ गते , बुधबार

लागूऔषध नेपाल सप्लाई गर्ने भारतीय कारोबारी गलगलियामा समातिए, ९५२ ग्राम ब्राउन सुगर बरामद

sajilo news
झापा
२०८३ भाद्र १७ गते , बुधबार
लागूऔषध नेपाल सप्लाई गर्ने भारतीय कारोबारी गलगलियामा समातिए, ९५२ ग्राम ब्राउन सुगर बरामद

झापा । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत भारतको गलगलियास्थित एक घरबाट ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन्। ती कारोबारीले भद्रपुर नाका हुँदै नेपालमा ब्राउन सुगर सप्लाई गर्दै आइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सशस्त्र सीमा बल (एसएसबी) ४१औँ बटालियनले लागूऔषधविरुद्ध सञ्चालन गरिरहेको अभियानअन्तर्गत गोप्य सूचनाका आधारमा छापा मार्दा ९५२ ग्राम ब्राउन सुगर बरामद भएको हो। एसएसबी ४१औँ बटालियनका कमान्डेन्टको निर्देशनमा सहायक कमान्डेन्ट अरविन्द कुमारको नेतृत्व र गलगलिया थानाको संयुक्त टोलीले बुधबार बिहान टीकाटोलीस्थित मोहम्मद जलालको घरबाट सो परिमाणको ब्राउन सुगर बरामद गरेको जनाएको छ।

एसएसबीका अनुसार पक्राउ परेका कारोबारी यसअघि पनि लागूऔषध कारोबारमा संलग्न भई जेल परिसकेका व्यक्ति हुन्। बरामद लागूऔषध घरमा लुकाएर राख्नुको कारणबारे थप अनुसन्धान भइरहेको छ। घटनाबारे एसएसबीले सूक्ष्म अनुसन्धान अघि बढाएको छ भने कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको बताएको छ। अनुसन्धान प्रभावित हुन सक्ने भएकाले प्रहरीले तत्काल अन्य संदिग्धको नाम सार्वजनिक गरेको छैन।

केही दिनअघि पनि ४१औँ बटालियन एसएसबी रानीडाङ्गा र गलगलिया थानाको संयुक्त टोलीले गलगलिया रेलवे स्टेसननजिकै रहेको काठ डिपोको एक घरमा छापा मारेर ५० ग्राम ब्राउन सुगर बरामद गरेको थियो। सो क्रममा गलगलिया काठ डिपो निवासी मोहम्मद मुस्ताककी ४८ वर्षीया पत्नी सबना खातुन घटनास्थलबाटै पक्राउ परेकी थिइन्। उनले पनि नेपालतर्फ नै ब्राउन सुगर सप्लाई गर्दै आएको अनुसन्धानमा खुलेको छ।

सम्बन्धित समाचार