२०८३ भाद्र १७ गते , बुधबार

झापाका सीडीओ गेलालले दिए पदबाट राजीनामा

sajilo news
झापा
२०८३ भाद्र १७ गते , बुधबार
झापाका सीडीओ गेलालले दिए पदबाट राजीनामा

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले पदबाट राजीनामा दिएका छन् । भोलिदेखि लागू हुने गरी भक्तपुर निवासी गेलालले दुई दिनअघि राजीनामा दिएका हुन् । उनी राजीनामा दिन काठमाडौँ गएका थिए । हिजो झापा फर्किएका प्रजिअ गेलालको आज जिल्ला प्रशासन कार्यालयमा बिदाइ कार्यक्रम रहेको छ ।

सरकारले निजामती सेवामा जनशक्ति कटौतीको लक्ष्य अनुरूप ५५ वर्षमै कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने योजना ल्याएपछि गेलालले राजीनामा दिएको बताइएको छ । सरकारले सङ्घीय निजामती सेवाबाट ठूलो सङ्ख्यामा कर्मचारीहरूको कटौती गर्ने योजना बनाएको छ । लामो समय काम गरेका र पुराना कर्मचारीहरू कटौतीका लागि सङ्घीय निजामती विधेयकबाटै उनीहरूलाई अवकाश दिने गरी गृहकार्य भइरहेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट रायका लागि कानुन मन्त्रालय पठाइएको विधेयकमा ५५ वर्ष उमेर पूरा भएका निजामती कर्मचारीहरूलाई अवकाश दिने प्रस्ताव छ ।त्यसका साथै सेवा अवधि ३० वर्ष पुगेकाहरू पनि अवकाश हुनेछन् । विधेयकमा प्रस्ताव गरिएको व्यवस्था हुबहु पारित भएर कार्यान्वयन भए २०२८ सालअघि जन्मिएका र निजामती सेवामा रहेका कर्मचारीहरू स्वतः अवकाश हुनेछन् ।

सम्बन्धित समाचार