२०८३ भाद्र १८ गते , विहीबार

भोटेकोशीको बाढीपछि सरुवा रोगको जोखिम उच्च

sajilo news
झापा
२०८३ भाद्र १७ गते , बुधबार
भोटेकोशीको बाढीपछि सरुवा रोगको जोखिम उच्च

बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा विभिन्न सरुवा रोग फैलिने जोखिम उच्च रहेको चिकित्सकहरूले बताएका छन् । दूषित पानी, असुरक्षित खानेकुरा, पानी जम्ने स्थान, लामखुट्टेको वृद्धि, सरसफाइको अभाव तथा विस्थापित नागरिकहरू ठूलो संख्यामा एउटै स्थानमा बस्नुपर्ने अवस्थाका कारण बाढीपछि स्वास्थ्य जोखिम थप बढ्ने चिकित्सकहरूको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेंगु, मलेरिया, स्क्रब टाइफस तथा हावाबाट सर्ने संक्रमण फैलिन सक्ने सम्भावना रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताएका छन् । टेकु अस्पतालमा कार्यरत डा. पुनका अनुसार बाढीमा परी मृत्यु भएका मानिस तथा पशुचौपायाका शवबाट प्रत्यक्ष रूपमा महामारी फैलिनेभन्दा पनि ती शवमा आकर्षित हुने मुसा, किराफट्याङ्ग्रा तथा अन्य जीवजन्तुका कारण अप्रत्यक्ष रूपमा संक्रमण फैलिने जोखिम बढी हुन्छ ।

उनले बाढी प्रभावित क्षेत्रमा शव लामो समयसम्म व्यवस्थापन हुन नसक्दा त्यसमा मुसा तथा अन्य जीवजन्तु आकर्षित हुने र तिनका माध्यमबाट विभिन्न संक्रमण फैलिन सक्ने बताए । विशेषगरी संक्रमित मुसाको पिसाब तथा अन्य माध्यमबाट लेप्टोस्पाइरोसिस फैलिन सक्ने उनको भनाइ छ । त्यस्तै किर्ना तथा अन्य कीटजन्य माध्यमबाट स्क्रब टाइफसजस्ता रोगको जोखिम पनि बाढीपछि बढ्न सक्ने उनले बताए ।

‘शवबाट नै अचानक संक्रमण फैलिनेभन्दा पनि पशुचौपायादेखि मानिसको शवसम्म विभिन्न प्रकारका जनावर, मुसा वा किराहरू आकर्षित हुन्छन्,’ डा. पुनले भने, ‘त्यस्ता माध्यमले विस्थापित भएका मानिस वा उद्धार तथा व्यवस्थापनमा खटिएका व्यक्तिलाई जोखिममा पार्न सक्छन्। संक्रमित मुसाको पिसाबबाट लेप्टोस्पाइरोसिस फैलिन सक्छ भने स्क्रब टाइफसजस्ता कीटजन्य रोग पनि देखिन सक्छन् ।’

शवभन्दा पानी र सरसफाइ मुख्य चुनौती

डा. पुनले बाढीपछि शवबाट मात्र संक्रमण फैलिन्छ भन्ने बुझाइ सही नभएको स्पष्ट पारेका छन् । प्रभावित क्षेत्रमा सुरक्षित खानेपानी, शौचालय, सरसफाइ, सुरक्षित खानेकुरा तथा लामखुट्टे नियन्त्रणको व्यवस्था हुन नसके संक्रमण फैलिने सम्भावना अझ बढी हुने उनले बताए । सुरक्षित खानेपानीको अभाव हुँदा हैजा, झाडापखाला, टाइफाइड तथा कमलपित्तजस्ता पानीजन्य रोगको जोखिम बढ्ने चिकित्सकहरूको भनाइ छ। त्यस्तै बाढीको पानी जमेर लामखुट्टे वृद्धि हुने वातावरण बनेमा डेंगू तथा मलेरियाको जोखिमसमेत बढ्न सक्छ ।

‘यदि सुरक्षित पानी पिउन सकेनौँ वा पाएनौँ भने हैजा, झाडापखाला, टाइफाइड र कमलपित्तका समस्या आउन सक्छन्,’ डा. पुनले भने, ‘पानी जम्मा भइरहेकाले लामखुट्टे बढ्ने वातावरण बन्छ, जसले गर्दा मलेरिया र डेंगुको जोखिम पनि जोडिएर आउँछ ।’ उनका अनुसार बाढी आउनुअघि नै झाडापखाला र ज्वरोका बिरामी बढिरहेका थिए । पछिल्लो समय लामखुट्टेको संख्या पनि बढ्दै गएको र डेंगुका बिरामी फाट्टफुट्ट देखिन थालेकाले बाढीपछि स्वास्थ्य चुनौती थप जटिल बन्न सक्ने उनले बताए । ‘पछिल्लो समयमा बाढी आउनुभन्दा अगाडि झाडापखाला र ज्वरोका बिरामी बढ्दै गइरहेका थिए। अहिले लामखुट्टे पनि धेरै बढ्दै गएको छ, डेंगु फाट्टफुट्ट देखिने क्रम जारी छ । आगामी दिन चुनौतीपूर्ण पनि छ,’ उनले भने।

विस्थापित बस्तीमा संक्रमणको जोखिम

बाढी तथा पहिरोका कारण विस्थापित नागरिकहरू अस्थायी आश्रयस्थलमा ठूलो संख्यामा बस्नुपर्ने भएकाले संक्रमण फैलिने जोखिम अझ उच्च हुने चिकित्सकहरूले बताएका छन् । विशेषगरी पर्याप्त शौचालय नहुँदा तथा खानेपानी र सरसफाइको उचित व्यवस्था नहुँदा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्न सक्छ ।

कतिपय संक्रामक रोगमा सुरुवाती अवस्थामा लक्षण नदेखिन सक्ने भएकाले जोखिम झन् बढी हुने डा. पुनको भनाइ छ । ‘कतिपय संक्रामक रोगमा लक्षण देखिँदैन । हेर्दा मानिस ठीक देखिए पनि उसको दिसा–पिसाबबाट संक्रमण निस्किरहेको हुन सक्छ,’ उनले भने, ‘त्यसैले एउटै ठाउँमा बसिरहेका विस्थापितमा रोग फैलिन सक्छ । शौचालयको व्यवस्था अत्यन्तै महत्त्वपूर्ण छ ।’ उनले प्रभावित क्षेत्रमा साबुनपानीको पर्याप्त व्यवस्था गर्न सके संक्रमणको जोखिम धेरै कम गर्न सकिने बताए । खाना खानुअघि तथा शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुने बानीलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

बालबालिका र गर्भवती महिलामा विशेष ध्यान

विपद्को समयमा बालबालिका र गर्भवती महिलाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने डा. पुनले बताए । बालबालिकामा सामान्य संक्रमणसमेत गम्भीर बन्न सक्ने भएकाले उनीहरूलाई सुरक्षित खानेकुरा, सफा पानी तथा व्यक्तिगत सरसफाइको व्यवस्था गर्नुपर्ने उनले बताए । त्यस्तै गर्भवती महिलालाई औषधिसँगै पोषणयुक्त खानेकुरा र आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । गर्भवती महिलालाई एन्टिबायोटिक मात्र दिमागमा राखेर हुँदैन ।

उहाँहरूलाई आवश्यक पर्ने पोषणयुक्त खानेकुरा र स्वास्थ्यबाट दिन सकिने सुविधालाई पनि ध्यानमा राख्नुपर्छ,’ उनले भने, ‘बालबालिकालाई पनि संक्रमणबाट सुरक्षित राख्नुपर्छ र जथाभावी खानेकुरा खान दिनु हुँदैन ।’ विगतमा तराई क्षेत्रमा बाढीका बेला आफूले छालासम्बन्धी रोग तथा पोषणको समस्या बढी देखेको अनुभव सुनाउँदै डा. पुनले अहिले पनि प्रभावित क्षेत्रमा यस्ता समस्यालाई बेवास्ता गर्न नहुने बताए ।

बिरामी देखिए तत्काल उपचार

बाढी प्रभावित क्षेत्रमा कसैमा झाडापखाला, ज्वरो वा अन्य संक्रमणका लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पु¥याएर उपचार गर्नुपर्ने चिकित्सकको सुझाव छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रमा औषधि तथा स्वास्थ्यकर्मी पर्याप्त मात्रामा परिचालन गर्नुपर्ने उनले बताए ।

प्रभावित क्षेत्रमा कति नागरिक विस्थापित भएका छन् भन्ने आधारमा स्वास्थ्यकर्मी परिचालन गर्नुपर्ने डा. पुनले बताए । औषधि तथा स्वास्थ्यकर्मी पठाउनुका साथै स्थानीय वातावरणको अवस्थासमेत अध्ययन गरेर आवश्यक स्वास्थ्य सेवा व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ ।

तीन तहका सरकारबीच समन्वय आवश्यक

बाढीपछि उत्पन्न हुनसक्ने स्वास्थ्य जोखिम नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको डा. पुनले बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सरकारी तथा गैरसरकारी निकायबीच समन्वय गरेर कुन क्षेत्रमा कति सहयोग आवश्यक छ भन्ने मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ ।

स्वास्थ्यलाई बेवास्ता नगर्न आग्रह

विपद्को समयमा नागरिकको पहिलो आवश्यकता गाँस, बास र कपास भए पनि त्यससँगै स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने डा. पुनले बताए । व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी तथा खानेकुरामा सामान्य सावधानी अपनाउन सके धेरै प्रकारका संक्रमणबाट बच्न सकिने उनको भनाइ छ । प्रभावित क्षेत्रमा पानी जम्ने स्थानमा लामखुट्टेको वृद्धि रोक्ने, सुरक्षित पानीको व्यवस्था गर्ने, शौचालय निर्माण तथा व्यवस्थापन गर्ने, साबुनपानी उपलब्ध गराउने र बिरामीलाई समयमै उपचारको पहुँचमा पु¥याउने कामलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

बाढीका कारण खोजी, उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र केन्द्रित भइरहेका बेला नियमित स्वास्थ्य सेवामा कमी आउन नदिन पनि सचेत हुनुपर्ने उनको सुझाव छ । प्राकृतिक विपद् अप्रत्याशित भए पनि त्यसपछि आउन सक्ने स्वास्थ्य जोखिमबारे पूर्वतयारी गर्न सकिने भएकाले सम्बन्धित निकायले तत्कालै रोग निगरानी, स्वच्छ खानेपानी, सरसफाइ तथा रोकथामका कार्यक्रम अघि बढाउनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् ।

सम्बन्धित समाचार