रसुवा-भोटेकोशी बाढी : कोशी प्रदेशका १५९ जना अझै सम्पर्कविहीन
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कोशी प्रदेशका विभिन्न जिल्लाका १५९ जना नागरिक अझै सम्पर्कविहीन रहेको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । बाढी आएको लामो समय बितिसक्दा पनि रोजगारी, व्यापार–व्यवसाय, धार्मिक यात्रा तथा अन्य कामका सिलसिलामा रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा पुगेका उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेका हुन् ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार प्रदेशका १३ जिल्लाका नागरिक बाढी प्रभावित क्षेत्रमा पुगेका बेला अचानक आएको बाढीको चपेटामा परेका थिए । उनीहरूको खोजी, उद्धार तथा अवस्थाबारे जानकारी लिने काम जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सबैभन्दा बढी सोलुखुम्बूका ४२ जना सम्पर्कविहीन छन् । त्यसपछि ओखलढुङ्गाका २५, उदयपुरका १६, मोरङका १७, सुनसरीका १६, झापाका १३, खोटाङका १०, इलामका नौ, संखुवासभाका तीन, भोजपुरका तीन, ताप्लेजुङका दुई, धनकुटाका दुई र पाँचथरका एक जना सम्पर्कविहीन रहेको प्रारम्भिक विवरणमा उल्लेख छ । तेह्रथुमबाट भने कुनै व्यक्ति सम्पर्कविहीन भएको विवरण छैन ।
प्रहरीका अनुसार हालसम्म पाँच जनाको उद्धार गरिएको, २७ जना सम्पर्कमा आएको, एक जना उपचाररत रहेको तथा एक जनाको मृत अवस्थामा शव फेला परेको छ । यसले बाढी प्रभावित क्षेत्रमा रहेका कोशी प्रदेशका नागरिकको अवस्था पत्ता लगाउन भइरहेको खोजीको केही परिणाम देखिए पनि ठूलो संख्यामा मानिस अझै परिवारको सम्पर्कबाहिर रहेको अवस्था देखाएको छ ।
प्रहरी विवरण अनुसार झापाका दिपक खरेल, घनश्याम भट्टराई, भक्तबहादुर राई, चुड्का टुडु, केवलनाथ आचार्य, नविन श्रेष्ठ, लक्ष्मन गुरुङ, राजकुमार दियाली, श्रुती दियाली, श्रीराज दियाली, कुलबहादुर कार्की, राजन आचार्य र रञ्जित कटुवाल सम्पर्कविहीन छन् । उनीहरू मेचीनगर, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, बुद्धशान्ति, बिर्तामोड र भद्रपुरलगायतका स्थानीय तहका बासिन्दा हुन् । उनीहरूमध्ये अधिकांश रसुवाका जलविद्युत् आयोजना, टिमुरे, स्याफ्रुबेंसी तथा अन्य क्षेत्रमा रोजगारी र व्यवसायका क्रममा पुगेका थिए ।
प्रहरीको विस्तृत सूचीमा देवलाल मुर्मु सतारको नामसमेत रहेको भए पनि उनको अवस्थाबारे उद्धार भएको उल्लेख छ । त्यसैले पछिल्लो बेपत्ता संख्यामा उनलाई समावेश गरिएको छैन । उता इलामका नरेन्द्रप्रसाद दाहाल, लोकबहादुर थापा, लक्ष्मणसिंह ऐर, बुद्धिसागर न्यौपाने, खिनमाया न्यौपाने, विजय राई, रविन भण्डारी, सपना घले भण्डारी र योगराज भण्डारी सम्पर्कविहीन रहेको प्रहरी विवरणमा उल्लेख छ । त्यसैगरी सूचीमा बेनु थेगिमलाई उपचाररत, विनोद राईलाई उद्धार भएको तथा दिवानन्द सुवेदीलाई मृत अवस्थामा फेला परेको उल्लेख छ ।
त्यस्तै पाँचथरबाट बबिन लावती मात्र सम्पर्कविहीन छन् भने ताप्लेजुङका भिष्म चापागाईं र दुर्गा भट्टराई अझै सम्पर्कविहीन रहेको विवरण छ । पासाङ शेर्पा, ङिमा साँगे शेर्पा र पासाङ तेन्जी शेर्पा भने सम्पर्कमा आइसकेका छन् ।
यता मोरङका शिवशंकर गुप्ता, रामभक्त नेवार, सुरजकुमार मण्डल, मेघा लिम्बू, सोना लिम्बू, देवीमाया तामाङ, पासाङ तामाङ, पूजा आचार्य नेपाल, सिवान्स आचार्य, रिचा निरौला, सचिन गौतम, दुर्गाप्रसाद पोखरेल, सूर्यबहादुर कार्की, भोजराज अधिकारी, अनोज धमला, देवीकुमारी गुरुङ, जीवन रेग्मी र रोशनकुमार जोशीको नाम सूचीमा छ । प्रहरीको जिल्लागत विवरणमा मोरङका १८ जना उल्लेख भए पनि पछिल्लो जानकारीमा १७ जना सम्पर्कविहीन भनिएको छ । विस्तृत सूचीमा रहेको सचिन गौतम नाम सुनसरीको सूचीमा पनि फरक उमेर र स्थायी ठेगानासहित रहेको हुँदा यी दुई व्यक्ति फरक हुन सक्ने देखिएको जनाइएको छ । त्यसैले नामावली प्रमाणीकरण आवश्यक रहेको बताइएको छ ।
त्यस्तै सुनसरीका सचिन गौतम, मुकेश नेपाल, धिरज साह, श्यामनारायण साह, मिना बजगाईं, मणिकरण राई, प्रभाकर दंगाल, पुष्पराज भट्टराई, दिनेशकुमार चौधरी, भुवनबहादुर श्रेष्ठ, रुबिना कुमारी थामी, अम्बरकाजी खड्का, मनकुमारी खड्का, मोहन माझी, आशिष उराव र संजीव उराव सम्पर्कविहीन रहेको विवरण छ । त्यसैगरी नवराज ढकाल, देवानन्द यादव, जीवन सिंह, संजित नारायण सिङ र छवि केशर काफ्ले भने पछि सम्पर्कमा आएको उल्लेख छ ।
उता धनकुटाका विपन घिसिङ र रोवी राई, संखुवासभाका ईश्वरीप्रसाद दाहाल, राधा थापामगर र आरुष ठाडामगर तथा भोजपुरका गोविन्द राई, गोपी राई र निम लाक्पा शेर्पा सम्पर्कविहीन छन् । उदयपुरका भेषराज माझी, मिलन माझी, चन्द्रबहादुर माझी, बुद्धिमान नेपाली, सुमन समीर राई, देवेन्द्र घिमिरे, धुर्व बस्नेत, अरुण मगर, बालकुमार राई, करण बि.क., मोहनबहादुर सार्की, ओमकुमार सार्की, लोकबहादुर बि.क., प्रबिन राई, गोपी राई र चक्रबहादुर तामाङ सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । भोलाराज कार्की, सुमन तामाङ, जीवन तामाङ, प्रेम रोक्का र अनिल कामी भने सम्पर्कमा आएको प्रहरी विवरणमा उल्लेख छ । खोटाङका पवन खत्री दाहाल, बालकुमार तामाङ, सुर्जबहादुर परियार, कबिन राई, युवराज राई, यसबहादुर राई, विपन बि.क., प्रज्ञान राई, रुपेश परियार र सुरज परियार सम्पर्कविहीन छन् । तारानाथ थापा भने सम्पर्कमा आएको विवरणमा उल्लेख छ ।
त्यसैगरी ओखलढुङ्गाका गेली शेर्पा, छोटी शेर्पा, सोनाम टासी शेर्पा, संगम श्रेष्ठ, देवराज सुनुवार, मिलन बेडारी, पेम्जाङ्बु शेर्पा, मेचनकुमार मगर, खेमबहादुर राउत, सुभद्रा न्यौपाने, दिनेश राई, कुलबहादुर थापामगर, सुमन दाहाल, रमेश भन्ने प्रेम पौडेल, खिलबहादुर बुढाथोकी, लप्साङ शेर्पा, मोनी दाहाल, तेन्जी शेर्पा, लोकबहादुर मगर, मिनबहादुर भुजेल, छिरीङ शेर्पा, मिनबहादुर भुजेलसँग रहेका एक वर्षीय छोरा, विशाल तामाङ, बुद्ध तामाङ, रामबहादुर गुरुङलगायतका व्यक्तिको नाम सूचीमा छ । तर यसै सूचीमा गणेशबहादुर पहरी, संजीव तामाङ र प्रकाश राई उद्धार भएको तथा अबिस्वर सुनुवार, माया शेर्पा, काँडी शेर्पा, छेवाङ शेर्पा, निमा शेर्पा, दोर्जे शेर्पा, प्रज्वल बस्नेत, याङ्जु शेर्पा, फुर्बा शेर्पा र कान्छीमाया शेर्पा सम्पर्कमा आएको उल्लेख छ ।
सोलुखुम्बूबाट दिलबहादुर भुजेल, ङिमा शेर्पा, साङ्गे शेर्पा, सोना शेर्पा, बाबुराम खत्री, भुपाल बुर्ज मगर, धनबहादुर तामाङ, सुरेश मगर, अनिस मगर, पासाङ काजी तामाङ, दोर्जी तामाङ, रोजीत तामाङ, पासाङ तामाङ, छिरिङ तामाङ, सगर तामाङ, रिन्जी तामाङ, नुरू जाङ्बु शेर्पा, तुलबहादुर मगर, हर्कबहादुर मगर, प्रकाशराना मगर, रामकाजी तामाङ, आङ फुर्बा शेर्पा, सुशान्त कुलुङ, डम्बर राई, पान्देउ राई, सेनाका प्युठ विनोद बस्नेत, बिकाश श्रेष्ठ, अम्बिर नाछिरीङ, प्रेमकुमार राई, अमित भन्ने कर्ण नाछिरीङ, ग्याल्जेन शेर्पा, दागुम्भु शेर्पा, सुबोधन राई, निरकुमार राई, तुलबहादुर थापामगर, हर्कबहादुर थापामगर, प्रकाश मगर, नवीन घिमिरे, गोकुल मगर, प्रेम मगर, कुमार मगर र तेन्जिङ नोर्बु शेर्पालगायतका व्यक्ति सम्पर्कविहीन रहेको विवरण छ । दोर्जी शेर्पा, ओमनाथ राई र हिरामाया मगर भने सम्पर्कमा आएको उल्लेख छ ।
परिवारमा बढ्दो चिन्ता
अचानक आएको बाढीका कारण सम्पर्कविहीन भएका नागरिकका परिवारमा लामो समयदेखि चिन्ता बढिरहेको छ । कतिपय परिवारले आफन्तको अवस्था थाहा पाउन विभिन्न निकायमा सम्पर्क गरिरहेका छन् । रोजगारी तथा व्यवसायका क्रममा घरबाट टाढा पुगेका नागरिकको अवस्था पत्ता लगाउन प्रहरी, स्थानीय प्रशासन र उद्धार टोलीले खोजीलाई निरन्तरता दिइरहेका छन् ।
विशेषगरी जलविद्युत् आयोजना, निर्माणस्थल, होटल–व्यवसाय, यातायात तथा अन्य रोजगारीका क्षेत्रमा कार्यरत नागरिकको संख्या ठूलो रहेकाले उनीहरूको विवरण संकलन तथा प्रमाणीकरण चुनौतीपूर्ण बनेको छ । प्रहरीले सम्पर्कविहीन व्यक्तिका आफन्तबाट प्राप्त सूचनाका आधारमा विवरण अद्यावधिक गरिरहेको जनाएको छ । त्यसैले सार्वजनिक गरिएको नामावलीमा समयअनुसार परिवर्तन आउन सक्ने र सम्पर्कमा आएका व्यक्तिको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।
बाढीमा हराएका नागरिकको अवस्था पत्ता लगाउनु अहिले परिवार मात्र नभई राज्यकै प्रमुख जिम्मेवारी बनेको छ । खोजी तथा उद्धार कार्यलाई अझ प्रभावकारी बनाउँदै प्रत्येक सम्पर्कविहीन नागरिकको वास्तविक अवस्था यथाशीघ्र सार्वजनिक गर्नुपर्ने माग प्रभावित परिवारले गरेका छन् । यता सरकारले पनि सबै संयन्त्र प्रयोग गरेर खोज, उद्धार तथा राहत वितरणको कामलाई निरन्तरता दिइरहेको जनाएको छ ।