२०८२ चैत्र १५ गते , आईतबार

अब पूरा हुनेभयो इलामका कृष्णबहादुरको ओत लाग्ने सपना

sajilo news
रासस
२०८२ चैत्र १४ गते , शनिबार
अब पूरा हुनेभयो इलामका कृष्णबहादुरको ओत लाग्ने सपना

इलाम । हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला कि भन्ने चिन्ता सुरु हुन्छ । वर्षापछि छानोबाट झर्ने पानीसँगै उनका पीडा र कष्ट पनि चुहिन्छन् । इलाम नगरपालिका-५ भार्लेनीका ५८ वर्षीय कृष्णबहादुर लिम्बूको ठुलो सपना छैन । एउटा ओतलाग्ने घर, जहाँ झरी पर्दा भिज्न नपरोस् र हावाहुरी चल्दा डराउन नपरोस् । तर, उनका लागि सहज रूपमाजीविकोपार्जनमा समस्या छ ।

फरक क्ष्मता (अपाङ्गता) भएका लिम्बू स्पष्टसँग बोल्न सक्दैनन् । बाँसको टाँटीले बेरिएको जीर्ण घरमा उनी श्रीमती र नौ वर्षीया कान्छी छोरीसँग बस्दै आएका छन् । 'हावाहुरी चल्दा, पानी पर्दा मन पोल्छ', कृष्णबहादुरले श्रीमती र छोरीलाई देखाउँदै भने, 'यिनीहरूलाई ओताउने घर बनाउने मन छ ।'

दैनिक ज्यालादारी गरेर परिवारको जीविकोपार्जन गर्नु उनको बाध्यता हो । गाउँघरमा दाउरा काट्ने, कटेरो बनाउने, मल बोक्नेलगायत मजदुरी गरेर उनले गुजारा चलाउँदै आएका छन् । सीमित आम्दानीबिच पनि उनले एउटा गाई, केही बाख्रा र सुँगुर पालेका छन् । 'त्यसैको आम्दानीले हातमुख जोड्न सकेका छौँ, छोरीको स्कूल खर्च धान्ने पनि त्यसैबाट हुन्छ', कृष्णबहादुरले भने । 

उनका तीन सन्तान छन् । दुई छोरीमध्ये एक जनाको विवाह भइसकेको छ भने छोरालाई आफन्तकोमा राखेका छन् । अहिले कक्षा ६ मा पढ्दै गरेकी ९ वर्षीया कान्छी छोरी उनीसँग छन् । दुई कोठे सानो घर, एउटा भान्सा र शौचालयसहितको सुरक्षित बास उनको जीवनको सपना हो । गाउँघरमा जोसँग भेट भए पनि उनी यही कुरा दोहोर्‍याउँछन्, ‘घर बनाउनु छ ।’ उनको बोली अस्पष्ट भए पनि भावनाले सबैलाई छुन्छ ।

यसैबिच उनको अवस्थाबारे थाहा पाएपछि नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष सटेन्द्र जबेगुले सामाजिक सञ्जालमार्फत घर निर्माण अभियान सुरु गरेका छन् । फेसबुकबाट सुरु भएको उक्त अभियानले छोटो समयमा उल्लेख्य साथ पाएको छ ।

'हालसम्म करिब तीन लाख ५० हजार सहयोग सङ्कलन भइसक्यो', जबेगुले भने, 'कृष्णबहादुरको नाममा बैंक खाता खोलेर सहयोग सङ्कलन भइरहेको छ । वैशाखसम्म कम्तीमा रु पाँच लाख सङ्कलन गरेर घर निर्माण सुरु गर्ने लक्ष्य छ ।' कृष्णबहादुरको चाहना अनुसार दुई कोठा, भान्सा र शौचालयसहितको घर बनाउने तयारी भइरहेको उनले जानकारी दिए । 

जीवनभर संघर्षमा बिताएका कृष्णबहादुरसम्म आफ्नो सपना पूरा हुन लागेको खबर पुगेको छ । उनले हँसिलो मुहारमा घर बनाउने घडेरी देखाउँदै भने, 'गरिबको भाग्य फेरिन्छ भन्ने सुनेको थिएँ ।'

सम्बन्धित समाचार