२०८३ कार्तिक २ गते , आईतबार

पाथीभरा दर्शनार्थीको सेवामा बिर्तामोडका व्यवसायी, २३औँ भण्डारा सम्पन्न

sajilo news
इलाम
२०८३ कार्तिक १ गते , शनिबार
पाथीभरा दर्शनार्थीको सेवामा बिर्तामोडका व्यवसायी, २३औँ भण्डारा सम्पन्न

इलाम । इलामको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा बडादशैँको फूलपातीका अवसरमा २३औँ पाथीभरा भण्डारा आयोजना गरिएको छ। बिर्तामोडका व्यवसायीहरूको सामूहिक पहलमा सञ्चालन हुँदै आएको भण्डारामार्फत शनिबार एक हजारभन्दा बढी भक्तजनलाई निःशुल्क भोजन तथा प्रसाद वितरण गरिएको हो।

पाथीभरा मन्दिरमा दर्शनका लागि पुग्ने भक्तजनलाई सहज रूपमा भोजन उपलब्ध गराउने उद्देश्यले वर्षौँदेखि भण्डारा सञ्चालन हुँदै आएको छ। धार्मिक आस्था र सामाजिक सेवाभावलाई जोड्ने उद्देश्यले सुरु गरिएको यस अभियानअन्तर्गत हरेक वर्ष बडादशैँ र चैतेदशैँमा गरी दुईपटक भण्डारा आयोजना गरिँदै आएको छ।

पाथीभरा भण्डारा समितिका सदस्य सन्तोष अग्रवालका अनुसार दशैँको समयमा मन्दिरमा दर्शनार्थीको चाप बढ्ने भएकाले भक्तजनको सेवाका लागि भण्डारा आयोजना गरिएको हो। धार्मिक यात्रामा निस्किएका भक्तजनलाई भोजनको सुविधा उपलब्ध गराउनुका साथै आपसी सद्भाव र सेवाभाव प्रवर्द्धन गर्नु भण्डाराको मुख्य उद्देश्य रहेको उनले बताए।

भण्डारामा भक्तजनलाई पुरी, सब्जीलगायतका परिकार निःशुल्क रूपमा प्रसादका रूपमा वितरण गरिएको थियो। टाढाटाढाबाट दर्शनका लागि आउने भक्तजनलाई लक्षित गरी आयोजना गरिएको भण्डाराले उनीहरूको तीर्थयात्रालाई सहज बनाउन सहयोग पुगेको आयोजकको भनाइ छ।

बिर्तामोडका व्यवसायीहरूको सामूहिक पहलमा सञ्चालन हुँदै आएको पाथीभरा भण्डारा भोजन वितरणमा मात्र सीमित छैन। समितिले पाथीभरा मन्दिर क्षेत्रका विभिन्न संरचना निर्माण तथा विकासका काममा समेत सहयोग गर्दै आएको सदस्य अग्रवालले जानकारी दिए। धार्मिकस्थलको विकासमा योगदान पुर्‍याउनु र मन्दिरमा आउने दर्शनार्थीलाई सेवा प्रदान गर्नु समितिको प्रमुख उद्देश्य रहेको उनले बताए। वर्षमा दुईपटक सञ्चालन हुने यस भण्डाराले धार्मिक आस्थासँगै सामाजिक उत्तरदायित्व, सामूहिक सहयोग र सेवाभावलाई समेत प्रवर्द्धन गर्दै आएको छ। 

सम्बन्धित समाचार