राजेश हमालद्वारा बिर्तामोडमा वास्तु विहारको आवासीय परियोजना उद्घाटन
नेपाली चलचित्रका महानायक राजेश हमालले झापाको बिर्तामोडमा निर्माणाधीन वास्तु विहारको आवासीय परियोजनाको उद्घाटन गरेका छन् ।
बिर्तामोड नगरपालिका–२ रामचोकस्थित निदी स्कुलनजिक टेक्नोकल्चर बिल्डिङ सेन्टर प्रालि (वास्तु विहार) ले शनिबार बडादशैँको फूलपातीको अवसर पारेर भूमिपूजा तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कम्पनीका ब्रान्ड एम्बेसडरसमेत रहेका हमालले भूमिपूजा गर्दै परियोजनाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलालगायतको उपस्थिति थियो । उनीहरूले व्यवस्थित आवास निर्माण तथा सहरी विकासको आवश्यकताबारे शुभकामना मन्तव्य राखेका थिए । वास्तु विहारको आवासीय परियोजनाका सीईओ सिद्धान्त तिवारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
उद्घाटन कार्यक्रमपछि आयोजित सांस्कृतिक कार्यक्रममा गायिका रचना रिमालसहित स्थानीय कलाकारहरूले प्रस्तुति दिएको आयोजकले जनाएको छ । दशैँको अवसर पारेर आयोजना गरिएको कार्यक्रममार्फत परियोजनाबारे जानकारी दिनुका साथै स्थानीयवासीलाई सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्य राखिएको कम्पनीको भनाइ छ ।
वास्तु विहारले बिर्तामोडमा स्थानीय जग्गाधनीसँगको सहकार्यमा करिब तीन बिघा क्षेत्रफलमा आवासीय परियोजनाको काम अघि बढाएको छ । कम्पनीका अनुसार यस परियोजनाअन्तर्गत २४ महिनाभित्र ७७ वटा घर निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हाल परियोजना क्षेत्रमा करिब ३५ वटा घर निर्माणाधीन अवस्थामा छन् । कम्पनीले ग्राहकको आवश्यकता र क्षमताअनुसार दुईदेखि सात शयनकक्षसम्मका घर निर्माण गर्ने योजना बनाएको छ ।
आवासीय क्षेत्रलाई व्यवस्थित र सुविधा सम्पन्न बनाउने उद्देश्यले सामुदायिक भवन, सपिङ सेन्टर, पार्क, मठमन्दिर तथा पौडी पोखरीलगायतका पूर्वाधार उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ । परियोजनामा घर निर्माणका लागि एकैपटक ठूलो रकम लगानी गर्न नसक्ने परिवारलाई लक्षित गरी चरणबद्ध भुक्तानीको व्यवस्था गरिएको छ । कम्पनीका अनुसार जग्गा खरिदका लागि कुल रकमको ३० देखि ४० प्रतिशत भुक्तानी गरेपछि जग्गा नामसारी गर्ने व्यवस्था मिलाइएको छ ।
जग्गा नामसारीपछि नक्सा पासलगायत आवश्यक प्रशासनिक प्रक्रियामा सहजीकरण गरी सम्झौताअनुसार घर निर्माणको काम अघि बढाइनेछ । घर निर्माणको प्रगतिअनुसार ग्राहकले किस्ताबन्दीमा रकम भुक्तानी गर्न सक्ने कम्पनीको भनाइ छ । सम्झौतामा उल्लेख भएअनुसारको रकम भुक्तानी भएपछि घर निर्माण सम्पन्न गरी ग्राहकलाई हस्तान्तरण गरिने जनाइएको छ । यस प्रक्रियाले घर बनाउन चाहने तर जग्गा खरिद र निर्माणका लागि एकैपटक ठूलो रकम जुटाउन कठिन हुने परिवारलाई सहज हुने कम्पनीको अपेक्षा छ ।
स्थानीय जग्गाधनी जगन्नाथ खनालले किस्ताबन्दीमा घर निर्माण गर्न सकिने व्यवस्था उपयोगी रहेको बताए । उनका अनुसार वास्तु विहारले व्यवस्थित आवासीय क्षेत्र निर्माण गर्ने उद्देश्यले सडक, विद्युत् तथा अन्य आवश्यक पूर्वाधारको व्यवस्थासहित कोलोनीको अवधारणामा काम गरिरहेको छ । व्यवस्थित बस्ती निर्माण हुँदा पूर्वाधार विकास, सुरक्षा र आवास व्यवस्थापनमा सहजता हुने उनको भनाइ छ । टेक्नोकल्चर बिल्डिङ सेन्टर प्रालिले नेपालमा घर निर्माणसम्बन्धी काम गर्न उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाबाट २०८० साल वैशाख २२ गते स्वीकृति प्राप्त गरेको जनाएको छ ।
कम्पनीले बिर्तामोड नगरपालिकामा २०८१ साउन १७ गते व्यवसाय दर्ता गरी आवास निर्माणको काम अघि बढाएको हो । वीरगञ्जमा कार्यालय स्थापना गरेर सेवा दिँदै आएको कम्पनीले बिर्तामोडमा समेत शाखा स्थापना गरी परियोजना सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार भारतमा आवास निर्माण क्षेत्रमा काम गर्दै आएको टेक्नोकल्चरले हालसम्म करिब ३६ हजार घर निर्माण गरी ग्राहकलाई हस्तान्तरण गरिसकेको छ । भारतमा हासिल गरेको अनुभवलाई नेपालमा प्रयोग गर्दै व्यवस्थित,सुविधा सम्पन्न र ग्राहकको आर्थिक क्षमताअनुसारका आवास निर्माण गर्ने लक्ष्य कम्पनीले लिएको छ ।
नेपालमा वीरगन्ज, विराटनगर र बिर्तामोडमा परियोजना सञ्चालन गरिरहेको कम्पनीले आगामी दिनमा आवास निर्माणको सेवा विस्तार गर्ने योजना बनाएको जनाएको छ । कम्पनीले नेपाल र भारतका विभिन्न सहरमा आफ्नो सेवा उपलब्ध गराउँदै आएको दाबीसमेत गरेको छ ।
व्यवस्थित सहरीकरणसँगै सुरक्षित र सुविधायुक्त आवासको माग बढिरहेका बेला वास्तु विहारले जग्गा खरिददेखि घर निर्माण र हस्तान्तरणसम्मको प्रक्रियालाई एउटै प्रणालीमा जोड्ने प्रयास गरेको जनाएको छ । चरणबद्ध भुक्तानी, निर्माण प्रक्रियामा सहजीकरण र सामुदायिक पूर्वाधारसहितको आवासीय अवधारणाले घर निर्माण गर्न चाहने परिवारलाई विकल्प उपलब्ध गराउने कम्पनीको अपेक्षा छ ।