२०८३ भाद्र २० गते , शनिबार

बिर्तामोडमा चन्दा सङ्कलन गर्ने समूह सक्रिय, एक युवक पक्राउ

sajilo news
झापा
२०८३ भाद्र १९ गते , शुक्रबार
बिर्तामोडमा चन्दा सङ्कलन गर्ने समूह सक्रिय, एक युवक पक्राउ

‘मान्छे भोकै नमरुन्’ भन्ने कामनासहितको अर्धकट्टी बोकेर मानव संवेदनासँग जोडिएका विषय देखाउँदै सर्वसाधारणबाट रकम असुल गरिरहेको अवस्थामा प्रहरीले बिर्तामोडमा एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले बिर्तामोड–९ स्थित धौलापुल नजिकबाट बिर्तामोड–४ का २५ वर्षीय राजन बर्देवालाई पक्राउ गरेको हो । उनी अर्धकट्टी बोकेर विभिन्न व्यक्तिसँग रकम उठाइरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

बिर्तामोड क्षेत्रमा विभिन्न नाम र बहानामा रकम उठाउने तथा ठगी गर्ने गतिविधि बढेको गुनासो आउन थालेपछि प्रहरीले त्यस्ता गतिविधिमाथि सूक्ष्म निगरानी बढाएको छ । मानव संवेदना तथा सामाजिक सेवाका नाममा सर्वसाधारणलाई प्रभावित पारेर रकम सङ्कलन गर्ने गतिविधिमाथि प्रहरीले विशेष निगरानी थालेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनिका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार ‘मान्छे भोकै नमरुन्’ लगायतका मानवीय संवेदनासँग सम्बन्धित विषय उल्लेख गरिएको अर्धकट्टी देखाएर रकम उठाउने गरेको जानकारी पाएपछि त्यस्ता व्यक्तिमाथि निगरानी बढाइएको थियो ।

प्रहरीका अनुसार कुनै आधिकारिक निकायमा दर्ता नभएका सङ्घ–संस्थाको नाम प्रयोग गरेर चन्दा वा सहयोग रकम उठाउने गरेको पाइएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरिएको छ ।

सामाजिक सेवा तथा सहयोगको नाममा सर्वसाधारणबाट रकम उठाउने कार्यमा एउटै व्यक्ति मात्र नभई समूह नै संलग्न हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । बिर्तामोड क्षेत्रमा यसरी रकम सङ्कलन गर्ने गिरोह सक्रिय भए–नभएको विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेका बर्देवामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले वास्तविक सामाजिक संस्था वा अभियानका नाममा समेत रकम सङ्कलन गर्दा सम्बन्धित संस्था आधिकारिक रूपमा दर्ता भए–नभएको तथा रकम सङ्कलनको उद्देश्य र प्रक्रिया स्पष्ट भए–नभएको यकिन गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार