इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, सहचालकको मृत्यु
मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका–१० स्थित बाह्रगोलाईमा बेली ब्रिज निर्माणका सामग्री बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आज दिउँसो करिब ४ः४५ बजे झापाबाट इलामतर्फ जाँदै गरेको डब्लुबी २९ बी२९४४ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रकका सहचालक भारतको दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३८ वर्षीय सुवास बर्मुनको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा ट्रक चालक भारतको दक्षिण दिनाजपुर, गंगारामपुर निवासी करिब ३० वर्षीय रबिन बर्मुन र सिन्धुपाल्चोकको चौतारा नगरपालिका–३ निवासी २९ वर्षीय आशबहादुर तामाङ घाइते भएका छन्। प्रहरीका अनुसार चालक बर्मुनको बाहिरी भागमा चोटपटक देखिएको छैन भने उनी बोल्न सक्ने अवस्थामा छन्। यस्तै, तामाङको बायाँ हातमा सामान्य चोट लागेको जनाइएको छ। घाइते दुवैलाई थप उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।