ग्लोबल ओरियन्सका सञ्चालकसहित तीन जनामाथि जाहेरी
अवैध रुपमा स्वास्थ्य जाँच र औषधी बिक्री गरी नेटवर्किङ व्यवसायमार्फत सर्वसाधारणलाई ठगी गरेको आरोपमा ग्लोबल ओरियन्सका तीन जनामाथि जाहेरी परेको छ । बिर्तामोड- ५ स्थित मित्रनगरमा रहेको ग्लोबल ओरियन्सको कार्यालयका शाखा प्रमुख पीताम्बर कट्टेल , अर्जुनधारा मल्टी पर्पोजका सुजन लिम्बू र सुशील थापाविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी परेको हो ।
इलाम रोङ गाउँपालिका –३ घर भएका उक्त कम्पनीको चिकित्सक बताउने कक्षा १२ अध्ययन गरेका वर्ष ४९ का पीताम्बर कट्टेल र इलाम देउमाई नगरपालिका वडा नं. ९ बस्ने वर्ष २८ का सुजन लिम्बु बुधवार नै पक्राउ परेका छन् भने थापा फरार रहेका छन् । कट्टेल र लिम्बूलाई बिहीबार अदालतबाट सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ग्लोबल ओरियन्सको कार्यालयमा बुधवार दिउँसो ३ बजेतिर इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष पाठक नेतृत्वको प्रहरी टोलीले छापा मारेको थियो । त्यसक्रममा अर्जुनधारा मल्टीे पर्पोजका सञ्चालक लिम्बू, ग्लोबल ओरियन्सका शाखा प्रमुख कट्टेलसहित २२ जना महिला र १९ जना पुरुष गरी ४१ जना पक्राउ परेका थिए । पक्राउ परेका महिलाहरूलाई जिल्ला प्रहरी कार्यालय भद्रपुर लगिएको थियो भने पुरुषहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको थियो । पक्राउ परेका अन्यलाई बाहिर राखेर अनुसन्धान गर्ने गरी छोडिएको प्रहरीले जनाएको छ ।
स्वास्थ्य उपचार तथा परीक्षणको नाममा सर्वसाधारणलाई भ्रममा पारी विभिन्न किसिमका सामग्री तथा फुड सप्लीमेन्टस बिक्री वितरण गर्ने कार्यहरू भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले मित्रनगर टोलस्थित एक घरको दोस्रो फ्ल्याट भाडामा लिई फ्ल्याट बाहिर अर्जुनधारा मल्टी पर्पोज नामक बोर्ड राखी भित्र ग्लोबल ओरियन्स नेपाल नामक कम्पनी सञ्चालनमा रहेको ठाउँमा छापा मारेको थियो ।
उक्त स्थानमा मेनेजमेन्ट कोर टिम लगायतका परिचयपत्र/ब्याज प्रयोग गरी उक्त कम्पनीका कर्मचारीहरूले युवा–युवतीलाई धेरैभन्दा धेरै मान्छेहरूलाई प्रलोभन देखाइ होलबडी चेकअपको लागि उक्त संस्थामा ल्याउने ,प्रशिक्षण दिने, विभिन्न व्यक्तिहरूलाई घर–घरमा पुगेर स्वास्थ्यसम्बन्धी समस्या पहिचान गर्ने भन्दै होलबडी चेकअपको नाममा रकम असुल्ने, विभिन्न फुड सप्लीमेन्टस बिक्री गर्न सिफारिस गर्ने जस्ता क्रियाकलाप गर्दै आएको प्रहरीले जनाएको छ ।
ग्लोबल ओरियन्सको कार्यालयबाट ल्यापटप ३ थान,मोबाइल – ३९ थान,पेनड्राइभ – १ थान ,मेमोरी कार्ड – २ थान ,नगद ८६ हजार ७५५ रुपैयाँ , कम्पनीका अभिलेख तथा विभिन्न कागजातहरू,३१ किसिमका औषधिजन्य सामग्री बरामद भएको जनाइएको छ ।