२०८३ भाद्र १८ गते , विहीबार

बिरामीलाई राहत : हल्दीबारीमा अब निःशुल्क रगत सेवा

sajilo news
झापा
२०८३ भाद्र १८ गते , विहीबार
बिरामीलाई राहत : हल्दीबारीमा अब निःशुल्क रगत सेवा

हल्दीबारी । हल्दीबारी गाउँपालिकाले आफ्ना स्थायी बासिन्दाका लागि निःशुल्क रगत उपलब्ध गराउने भएको छ। गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार यो योजना कार्यान्वयनका लागि बिहीबार गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाबीच औपचारिक सम्झौता भएको छ।

​सम्झौताअनुसार झापा जिल्लाभित्र हल्दीबारी गाउँपालिकाका बासिन्दाले रगत लिँदा लाग्ने प्रति युनिट १ हजार १ सय रुपैयाँ परीक्षण (प्रोसेसिङ) शुल्क गाउँपालिकाले नै व्यहोर्नेछ। यससँगै बिरामी वा तिनका आफन्तले रगत बापत कुनै शुल्क तिर्नुपर्ने छैन।

​रेडक्रस जिल्ला शाखाका कोषाध्यक्ष ओमप्रकाश गौतमका अनुसार यसअघि आर्थिक वर्ष २०८२।८३ मा मात्रै गाउँपालिकाका २३८ जना बासिन्दाले यो सुविधा अन्तर्गत निःशुल्क रगत प्राप्त गरिसकेका छन्।

​यसअघि आर्थिक वर्ष २०८०।८१ मा वडा नम्बर २ ले ५० हजार रुपैयाँको बजेट विनियोजन गरी वडावासीलाई रगत सेवा उपलब्ध गराउन सुरु गरेको थियो। त्यसैको निरन्तरता स्वरूप गाउँपालिकाले नै नीति तथा कार्यक्रममार्फत दायरा बढाएर सम्पूर्ण पालिकावासीलाई यो सुविधा दिन थालेको हो।

​सम्झौता पत्रमा हल्दीबारी गाउँपालिकाका तर्फबाट अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन र स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौला तथा नेपाल रेडक्रस सोसाइटीका तर्फबाट जिल्ला कोषाध्यक्ष ओमप्रकाश गौतम, कार्यालय प्रमुख हरिशरण खड्का र हल्दीबारी उपशाखा सदस्य नेत्रविक्रम विमलीले हस्ताक्षर गरेका छन् । 

सम्बन्धित समाचार