विद्युत प्राधिकरण इन्जिनियर ५० हजार घुससहित पक्राउ
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत एक इन्जिनियर ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।जिल्ला सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर (सातौँ) कृष्ण नारायण यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
गार्मेन्ट उद्योगमा २० केभी क्षमताको विद्युत लाइन जडान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको सूचना तथा उजुरीका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले यादवलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार यादवलाई सेवाग्राहीबाट घुसबापत लिएको ५० हजार रुपैयाँसहित पक्राउ गरिएको हो । उनको साथबाट स्रोत नखुलेको थप १२ हजार ८५ रुपैयाँ समेत बरामद भएको आयोगले जनाएको छ ।यादवलाई २०८३ भदौ १७ गते इटहरी उपमहानगरपालिका–९ बाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।पक्राउ परेका यादवविरुद्ध घुस/रिसवत तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ । आयोगका अनुसार भदौ १८ गते विशेष अदालतको आदेशबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।