२०८३ श्रावण २८ गते , विहीबार

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट झापामा पाँच जनाको मृत्यु

sajilo news
झापा
२०८३ श्रावण २८ गते , विहीबार
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट झापामा पाँच जनाको मृत्यु

वर्षायाम शुरु भएयता फैलिएको जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमणबाट संक्रमित झापाका ९ जनामध्ये पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा तीनजना पुरुष र दुईजना महिला रहेका छन् । मेचीनगरका ३ , हल्दिवारीका १ , बाह्रदशीका १ , कचनकवलका १ , बिर्तामोडका २ र अर्जुनधाराका १ गरी पाँच पुरुष र चार महिलामा जापानिज इन्सेफ्लाइटिस (जेई) को संक्रमण देखा परेको थियो । त्यसमध्ये पाँचजनाको मृत्यु भइसकेको ,एक जना उपचारमा रहेको र तीनजना डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

संक्रमितहरु अधिकांश ५० वर्ष माथिका छन् । सङ्क्रमितमा एक जना बालक ७ महिनाका र एक जना ४० वर्ष उमेरको रहेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले बताए ।

लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) का कारण पछिल्लो चार महिनामा झापामा ५ जनासहित देशभरमा १३ जनाको मृत्यु भएको छ भने ८३० जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार गत वैशाखदेखि हालसम्म २१ जिल्लामा जेई संक्रमण पुष्टि भएको हो । सङ्क्रमणबाट झापामा पाँच तथा धनुषा, सुनसरी, मोरङ, इलाम, रौतहट, पर्सा, काभ्रे र दाङमा एक–एक जनाको मृत्यु भएको छ ।

महाशाखाको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार पानी पर्ने समयमा जेई संक्रमण बढी देखिने भएकाले सङ्क्रमितको सङ्ख्या अझ बढ्न सक्ने जोखिम छ। उनका अनुसार सङ्क्रमितमध्ये अधिकांशले जेईविरुद्धको खोप लगाएका छैनन्।

जेईबाट एकदेखि ६० वर्ष उमेर समूहका व्यक्ति प्रभावित भएका छन्। प्रदेशगत रूपमा कोशी प्रदेशमा सबैभन्दा बढी २४२ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बागमती प्रदेशमा १५७, लुम्बिनीमा १०४, मधेशमा ९६, सुदूरपश्चिममा ८७ र कर्णालीमा ६४ जनामा संक्रमण पुष्टि भएको छ।

जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातका संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। लामखुट्टेको टोकाइपछि भाइरसले मस्तिष्कमा संक्रमण गराउन सक्छ।

जेई फ्लाभिभाइरस समूहअन्तर्गत पर्ने रोग हो। डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्।
सुँगुर र हाँसलाई जेई भाइरसको मुख्य स्रोत मानिन्छ। विशेषगरी सुँगुर पाल्ने व्यक्ति तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्नेहरू संक्रमणको उच्च जोखिममा रहने स्वास्थ्य विज्ञहरू बताउँछन्।

विश्व स्वास्थ्य संगठनका अनुसार जेईका कारण गम्भीर बिरामी भएका व्यक्तिमध्ये करिब एक तिहाइको मृत्यु हुन सक्छ। बाँच्नेहरूमध्ये पनि करिब आधामा दीर्घकालीन तथा गम्भीर स्नायुसम्बन्धी अपाङ्गता देखिन सक्ने जोखिम हुन्छ।
स्वास्थ्य अधिकारीहरूले जेईबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुका साथै सरकारले सञ्चालन गर्ने नियमित खोप कार्यक्रममा सहभागी भई जेईविरुद्धको खोप लगाउन आग्रह गरेका छन्।

सम्बन्धित समाचार