झापा उद्योग संघको नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा शिवकुमार गुप्ता
भद्रपुर । झापा उद्योग संघ भद्रपुरको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएका छन् । आइतबार सम्पन्न संघको २७ औँ साधारणसभा तथा निर्वाचन अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्षमा शिवकुमार गुप्ता निर्विरोध चयन भएका हुन् । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा दीपेश ढकाल, उद्योग उपाध्यक्षमा दुर्गाप्रसाद भण्डारी, कृषि उपाध्यक्षमा विनयकुमार गोयल, महासचिवमा प्रदीपमणि रेग्मी, सचिवमा तीर्थराज ढकाल र कोषाध्यक्षमा प्रदीपकुमार गुप्ता निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा अरविन्द अग्रवाल, सुरेशकुमार अग्रवाल, रमेश पराजुली, विनयराज पोखरेल, निर्मल भट्टराई, धनजुजु श्रेष्ठ, मोहनकुमार मित्तल र आदित्य पराजुली रहेका छन् ।
उद्योग संघको उद्घाटन सत्रमा उद्योग तथा व्यवसाय क्षेत्रमा विशेष योगदान पुर्याउने उद्यमी, पत्रकार र कर्मचारीहरूलाई सम्मान गरिएको थियो । संघका अध्यक्ष यामबहादुर श्रेष्ठको अध्यक्षता एवम् सार्क चेम्बर अफ कमर्सका अध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा संघको भवनमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । संघले उत्कृष्ट सदस्य सम्मानबाट उद्योगीहरू सत्यनारायण तायल, उज्ज्वल श्रेष्ठ, विनय गोयल, र महेश चित्लांगियालाई सम्मान गरेको थियो । उत्कृष्ट पत्रकारतर्फ गोपाल गिरी र रोहित काफ्ले साथै संघका कर्मचारी शुष्मा शाक्यसहित तीन जनालाई नगदसहित सम्मान गरेको थियो । त्यस्तै कार्यक्रममा सार्क चेम्बर अफ कमर्सका अध्यक्ष चण्डीराज ढकाल, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका केन्द्रीय उपाध्यक्ष आदित्य पराजुलीलाई सम्मान गरिएको थियो । संघले उत्कृष्ट निर्यात प्रतिष्ठान प्लाइउड, अलैँची र चिया निर्यातकर्तालाई पनि सम्मान गरेको थियो ।
संघका उपाध्यक्ष शिवकुमार गुप्ताले स्वागत मन्तव्य राखेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य उमेश डालमिया, झापा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजकुमार राई , राष्ट्रिय चिया तथा कफी विकास बोर्डका उपाध्यक्ष आदित्य पराजुली, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, उद्योग वाणिज्य संघ कोशी प्रदेशका उपाध्यक्ष ऋषि तिम्सिना लगायतले औद्योगिक सुरक्षा र नीतिगत सुधारका विषयमा आआफ्ना धारणा राखेका थिए । संघका अध्यक्ष श्रेष्ठले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रदीपकुमार सरावगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकाको कार्यक्रमको सञ्चालन पत्रकार ईश्वर अधिकारीले गरेका थिए ।