बर्डफ्लु रोगका कारण झापामा करिब ३ करोडको क्षति
बर्डफ्लु रोगका कारण झापामा करिब २ करोड ९२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यसको ७५ प्रतिशत किसानले क्षतिपूर्ति पाउने भएका छन् । गत चैत र बैशाख महिनामा झापाको चार वटा फार्ममा बर्डफ्लु देखा परेको थियो ।
दमक-१० मा देवेन्द्र प्रसाईँको दमक एग्रिकल्चर फार्म , दमक १० कै मनिश बलमपाकी मगरको दमक कृषि फार्म , कमल ५ का उज्ज्वल भण्डारीको फार्म र गौरादह ६ का मनोज सिटौलाको रेमन कृषि फार्ममा बर्डफ्लु फैलिएको थियो । ती फार्महरूमा २० हजार ९० वटा कुखुरा , ९७ हजार ४५० अन्डा र १० हजार ४६५ केजी दाना नष्ट गरिएको थियो ।
नष्ट गरिएका पन्छी , पन्छीजन्य पदार्थ र उत्पादन सामग्रीको विवरण क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पशु सेवा विभाग हरिहर भवन ललितपुर पठाइएको पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले बताइन् । उनले प्रभावित कृषकहरूलाई प्रचलित मापदण्ड बमोजिम राहत उपलब्ध गराइदिनका लागि प्रमाणित विवरण पठाइएको बताउँदै केही दिनभित्रै पीडित किसानहरूले राहत पाउने जानकारी दिएकी छन् । अर्थ मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानका लागि क्षतिपूर्ति दिन ५० करोड रुपैयाँ निकासा गरेको बताइएको छ ।