विवाहित नेपाली महिलालाई भारतीय नागरिकता दिनका लागि विशेष शिविर सञ्चालन हुने
भद्रपुर l भारतको बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्ला प्रशासनले भारतीय नागरिकता प्राप्त गर्न इच्छुक नेपाली महिलाका लागि विशेष नागरिकता शिविर सञ्चालन गर्ने भएको छ।
जिल्ला पदाधिकारी नवीन कुमारद्वारा जारी पत्रअनुसार भारतमा विवाह गरेका नेपाली महिलालाई भारतीय नागरिकता ऐन, १९५५ को धारा ५(१)(c) र धारा ६(१) बमोजिम भारतीय नागरिकता प्राप्त गर्न सहज बनाउने उद्देश्यले २०२६ जुलाई ८ देखि १५ तथा जुलाई २२ सम्म सम्बन्धित प्रखण्ड (ब्लक) कार्यालयहरूमा विशेष शिविर सञ्चालन गरिनेछ।
जिल्ला प्रशासनले सबै प्रखण्ड विकास पदाधिकारीलाई आफ्ना कार्यक्षेत्रमा शिविर सञ्चालन गरी इच्छुक आवेदकलाई नागरिकता ऐनअनुसार आवेदन दिन आवश्यक जानकारी प्रदान गर्न, जनचेतना फैलाउन तथा आवश्यक कागजातसहित आवेदन संकलन गर्न निर्देशन दिएको छ।
संकलित आवेदन दर्ता अभिलेखसहित किशनगञ्ज जिल्ला सामान्य प्रशासन शाखामा बुझाउन पनि सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको पत्रमा उल्लेख छ।
भारतीय नागरिकता प्राप्त गर्न चाहने नेपाली महिलाको आवेदन प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन यो अभियान सञ्चालन गर्न लागिएको जिल्ला प्रशासनले जनाएको छ।