२०८३ असार २२ गते , सोमबार

झापामा एक बालकको मृत्यु, ५१० जनामा डेंगूको संक्रमण

sajilo news
झापा
२०८३ असार २१ गते , आईतबार
झापामा एक बालकको मृत्यु, ५१० जनामा डेंगूको संक्रमण

मौसममा आइरहेको परिवर्तनका कारण यति बेला स्वास्थ्य सतर्कता अपनाउन जिल्ला स्वास्थ्य कार्यालय झापाले आग्रह गरेको छ । पानी पर्दै, घाम लाग्दै गरेको अवस्थामा लामखुट्टेले अण्डा पार्ने र लार्भा विकसित गरेर डेंगूको संक्रमण फैल्याउन सक्ने भएकाले यो बेला सचेत बन्नु पर्ने जिल्ला स्वास्थ्य कार्यालय झापाका डेंगू रोग ‘फोकल पर्सन’ युगनाथ बरालले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षमा एक बालकले डेंगूकै कारण ज्यान गुमाइ सकेका छन् । झापाको झापा गाउँपालिकाका १० वर्षीय बालकको डेंगूकै सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । चालू आर्थिक वर्षमा झापामा पाँच सय १० जनामा डेंगूको संक्रमण फेला परिसकेको छ । जिल्लाका १५ पालिकामध्ये दमक र बिर्तामोडमा डेंगूको संक्रमण उच्च रहेकाले सतर्कता अपनाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

दमकमा दुई सय १६ जनामा डेंगू संक्रमण देखिँदा बिर्तामोडमा ८९ जना, भद्रपुरमा ७०, हल्दीबारीमा २८, मेचीनगरमा २२, बुद्धशान्तिमा १८, कनकाईमा १६, अर्जुनधारामा ११, गौरादहमा तीन, बाह्रदशीमा सात जनामा संक्रमण देखा परिसकेको छ । केही स्थानीय तहका स्वास्थ्य कार्यालयबाट तथ्याङ्क अपडेट हुन बाँकी रहेकाले यो सङ्ख्या बढ्न सक्ने जिल्ला स्वास्थ्य कार्यालय झापाका डेंगू रोग ‘फोकल पर्सन’ बरालले जानकारी दिए ।

उनले विगतका वर्षहरूमा भन्दा यो वर्ष डेंगूको संक्रमण घटेको उल्लेख गरे । उनले भने–कुनै पनि रोग उच्च दर सम्म पुग्छ, त्यसपछि क्रमशः घट्न थाल्छ र महामारीले स्वरोप परिवर्तन गर्न सक्छ । डेंगू किट जन्य रोग भएकाले वातावरण परिवर्तन भएसँगै त्यो रोगहरू निस्प्रभावी बन्न सक्ने उनको भनाई छ । यो समय भनेका जिल्लाका सबै पालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्ने र विद्यालयहरूमा सचेतना फैल्याउने क्रममा लाग्नुपर्ने बरालको भनाई छ । उनले भने– अहिले त अधिकांश विद्यालयहरूमा विद्यालय नर्सहरू रहेका छन् , उनीहरू मार्फत डेंगू विरुद्धको सचेतना फैल्याउनुपर्छ ।

डेंगू एडिस लामखुट्टेले टोकेपछि हुन्छ । खासगरी यो लामखुट्टे रातमा नभई दिउँसो सक्रिय हुन्छ । रातको समयमा भने यसको खासै जोखिम हुँदैन । अरू लामखुट्टे जस्तो यसको आवाज सुनिँदैन र थाहै नपाई टोक्न सक्छ । खुट्टा, पाखुरा जस्तो लुगाले नछोपिएको भागमा टोक्छ । यद्यपि यसले टोक्नसाथ डेंगू लाग्छ भन्ने होइन । संक्रमित लामखुट्टेले टोक्यो भने मात्र डेंगू लाग्न सक्छ । संक्रमित लामखुट्टेले टोकेपछि ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, चक्कर लाग्ने, मांसपेशी वा जोर्नी दुख्ने, आँखाको भित्री भाग दुख्ने, शरीर गलेको महसुस हुने जनाइएको छ ।

आफ्नो घर, कार्य थलो आसपासमा राम्ररी सरसफाइ गरेमा लामखुट्टे फैलन नपाउने भएकाले सरसफाइमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन् । पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घरबाहिर बोतल, टायर, प्लास्टिकमा पानी जमेर यो लामखुट्टेले आफ्नो वासस्थान बनाउन सक्ने भएकाले त्यस तर्फ ध्यान दिन बरालले आग्रह गरे ।

अँध्यारो कुना, पर्दा पछाडि, खाटको मुनी, शौचालय भित्र किटनाशक औषधि छर्कन, फूलदानी वा त्यसमा जम्ने पानीमा पनि यो लामखुट्टे बस्न सक्ने भएकाले यस्ता विषयमा ध्यान दिन उनले आग्रह गरे । गर्मी मौसम भए पनि पुरा शरीर ढाक्ने लुगा लगाउने सुझाव दिदैं पातलो वा हल्का लुगा भएपनि शरीर ढाक्नेगरी लगाउन अनुरोध गरे । डेंगूबाट बच्न लामखुट्टेको लार्भा वा प्युपा समयमा नै खोजेर नष्ट गर्नु नै प्रभावकारी हुने भएकाले स्थानीय तहले यस्ता विषयमा ध्यान दिनुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । लार्भा नष्ट गर्न सकेमा सहज नियन्त्रण गर्न सकिने र नभए महामारी रूप लिने भएकाले सबैले सचेतना फैल्याउन आग्रह गरे ।

यो वर्ष झापामा पानी परिरहेकाले डेंगू सङ्क्रमितको सङ्ख्यामा कमी आएको हुन सक्ने बताइएको छ । तर, अहिले पानी पर्दै घाम लाग्दै गरेको अवस्थामा भने डेंगूको संक्रमण दर फैलन सक्ने भएकाले चनाखो बन्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । डेंगू फैलिए पछि सचेतना भन्दा पनि यो बेला भने सर्च एण्ड डिस्ट्रोए अर्थात् खोज र नष्ट गर अभियान सञ्चालन गर्नु पर्ने जिल्ला स्वास्थ्य कार्यालय झापाका डेंगू रोग ‘फोकल पर्सन’ बरालले बताए । निर्माणका कामहरू धमाधम भइरहेको र खाल्डाखुल्डीमा डेंगू रोगको संक्रमण फैल्याउन सक्ने लामखुट्टेले लार्भाको विकास गर्न सक्ने भएकाले आफ्ना वरिपरि रहेका खाल्डाखुल्डीहरूमा पानी जम्न नदिन आग्रह गरे ।

नेपालमा पछिल्लो छ महिनायता पुष्टि भएका डेंगु सङ्क्रमितमध्ये सबैभन्दा धेरै झापामा भेटिएका छन् । सरकारी तथ्याङ्कअनुसार पुस १७ यता देशभर एक हजार ४२ जनामा डेंगू सङ्क्रमण पुष्टि हुँदा झापामा मात्रै १३८ जना संक्रमित भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो अद्यावधिक विवरणले झापालाई डेंगू सङ्क्रमणको मुख्य प्रभावित जिल्ला देखाएको हो ।

झापापछि काठमाडौँमा ६१, सुनसरीमा ५७, मकवानपुर र रुपन्देहीमा समान ५०, कास्कीमा ४४, ओखलढुङ्गा र चितवनमा ३९ तथा पाल्पामा ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ । डेंगूबाट यो अवधिमा दुई जनाको मृत्यु भइसकेको छ । हालसम्म ७१ जिल्लामा सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ । झापा, सुनसरी, काठमाडौँ, चितवन, कास्की, मकवानपुर, पाल्पा र ओखलढुङ्गाजस्ता जिल्लामा संक्रमणको घनत्व अपेक्षाकृत बढी देखिएको छ ।

प्रदेशगत विवरण हेर्दा कोशी प्रदेशमा सबैभन्दा धेरै २९२ जना संक्रमित भेटिएका छन् । त्यसपछि बागमती प्रदेशमा २६४, लुम्बिनीमा १६७, गण्डकीमा १६१, सुदूरपश्चिममा ६९, मधेसमा ५२ र कर्णालीमा ३७ जनामा संक्रमण पुष्टि भएको छ । डेंगूको सामान्य लक्षण देखिएमा पर्याप्त आराम, झोलिलो खानेकुरा र पारासिटामोल सेवनले स्वास्थ्यमा सुधार आउन सक्छ । तर, अत्यधिक पेट दुख्ने, रक्तस्राव हुने वा बेहोस हुनेजस्ता गम्भीर लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।

नेपालमा डेंगू अब मौसमी समस्या मात्र नभई सार्वजनिक स्वास्थ्यको स्थायी चुनौतीका रूपमा देखिन थालेको छ । स्वास्थ्य वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१–८२ मा देशभर ५४ हजार ३५० जना डेंगूबाट संक्रमित भएका थिए । त्यसअघि २०८०–८१ मा ४८ हजार ८८३ र २०७९–८० मा ५६ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको थियो । बर्सेनि सङ्क्रमितको सङ्ख्या उतारचढावपूर्ण रहे पनि डेंगू नियन्त्रणमा दीर्घकालीन रणनीति, स्थानीय तहको सक्रियता र नागरिकस्तरमा सचेतना अभिवृद्धि अपरिहार्य बन्दै गएको छ ।

विशेषगरी झापाजस्ता उच्च जोखिमयुक्त जिल्लामा लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, सरसफाइमा ध्यान दिने र प्रारम्भिक लक्षण देखिनासाथ परीक्षण गराउने उपायलाई प्राथमिकता दिन विज्ञहरूले सुझाव दिएका छन् । नागरिक तहबाट समेत सतर्कता र सचेतता अपनाउने हो भने यो रोगलाई नियन्त्रण गर्न सकिने चिकित्सकहरूको भनाई छ । डेंगूका कारण बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित हुने गरेको पाइएको छ ।

सम्बन्धित समाचार