२०८३ असार २० गते , शनिबार

मेची प्रादेशिक अस्पतालमा स्तन क्यान्सर पहिचान गर्ने म्यामोग्राफी सेवा सञ्चालन

sajilo news
पार्थ मण्डल
२०८३ असार २० गते , शनिबार
मेची प्रादेशिक अस्पतालमा स्तन क्यान्सर पहिचान गर्ने म्यामोग्राफी सेवा सञ्चालन

भद्रपुर । कोशी प्रदेश सरकार मातहतका सरकारी अस्पतालमध्ये पहिलो पटक भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा स्तन क्यान्सरको समयमै पहिचानका लागि अत्याधुनिक म्यामोग्राफी सेवा सञ्चालनमा आएको छ।  

अस्पतालमा जडान गरिएको म्यामोग्राफी मेसिनले स्तनमा गाँठो वा ट्युमर हातले छामेर थाहा पाउनुभन्दा करिब २ देखि ३ वर्ष अगावै क्यान्सरको प्रारम्भिक संकेत पत्ता लगाउन सक्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.सञ्जय गुप्ताले जानकारी दिए ।  यसबाट रोग सुरुवाती अवस्थामै पहिचान भई समयमै उपचार गर्न सकिने भएकाले स्तन क्यान्सरबाट हुने जोखिम तथा मृत्यु दर घटाउन महत्त्वपूर्ण सहयोग पुग्ने उनको विश्वास छ।

यसअघि म्यामोग्राफी परीक्षणका लागि बिरामीहरूलाई धरान, विराटनगर, काठमाडौँलगायतका अस्पताल धाउनुपर्ने अवस्था थियो। अब भने झापा तथा पूर्वी क्षेत्रका महिलाले आफ्नै प्रदेशको सरकारी अस्पतालबाट सहज रूपमा यो सेवा लिन सक्ने भएका छन्।

अस्पताल प्रशासनका अनुसार ४० वर्षभन्दा माथिका महिला, परिवारमा स्तन क्यान्सरको इतिहास भएका तथा चिकित्सकको सल्लाहअनुसार जोखिम समूहमा रहेका महिलाले नियमित रूपमा म्यामोग्राफी परीक्षण गराउनुपर्ने हुन्छ। प्रारम्भिक चरणमै रोग पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको हुने सम्भावना अत्यधिक रहने चिकित्सकहरूको भनाइ छ।

अस्पतालले नयाँ भवनबाट आफ्नो सेवा सुरुवात गरेसँगै पछिल्ला समयमा स्वास्थ्य सेवा विस्तारलाई तीव्रता दिएको छ। म्यामोग्राफी सेवासँगै अस्पतालमा डिजिटल एक्स–रे, सिटी स्क्यान, भिडियो एक्स–रे (फ्लोरोस्कोपी), डायलाइसिस, आईसीयू, एनआईसीयू, विशेषज्ञ प्रसूति तथा स्त्रीरोग सेवा, बालरोग, हाडजोर्नी तथा ट्रमा, शल्यक्रिया, फिजियोथेरापी, दन्त उपचार, रक्तसञ्चार सेवा, प्रयोगशाला तथा आपत्कालीन सेवासमेत सञ्चालनमा छन्। यसका साथै अस्पतालले विभिन्न विशेषज्ञ चिकित्सकमार्फत नियमित ओपीडी सेवा, सुरक्षित मातृत्व कार्यक्रम, खोप सेवा, नसर्ने रोगको परीक्षण तथा परामर्श, स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपचारलगायतका सेवा पनि प्रदान गर्दै आएको छ।

सम्बन्धित समाचार