दक्षिण अफ्रिकालाई हराउँदै इंग्ल्यान्ड टि-२० विश्वकपको फाइनलमा
कप्तान न्याट साइभर-ब्रन्टको उत्कृष्ट अलराउन्डिङ प्रदर्शनको मद्दतले इङ्ल्यान्ड आइसिसी महिला टि-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
लन्डनस्थित 'द ओभल' मैदानमा गएराति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ४० रनले स्तब्ध पार्दै इङ्ल्यान्डले उपाधि भिडन्तका लागि अस्ट्रेलियासँगको भेट पक्का गरेको हो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली इङ्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६९ रनको बलियो योगफल खडा गरेको थियो।
२३ रन जोड्दा शीर्ष क्रमका ३ महत्वपूर्ण विकेट गुमाइसकेको इङ्ल्यान्डको इनिङ्सलाई कप्तान न्याट साइभर-ब्रन्ट र हेदर नाइटले उकासेका थिए। उनीहरूबीच चौथो विकेटका लागि १३३ रनको कीर्तिमानी साझेदारी भएको थियो।
ब्रन्टले ४७ बलमा ११ चौका र १ छक्काको मद्दतले सर्वाधिक ७५ रन बनाइन् भने नाइटले ५८ रनको योगदान दिइन्। दक्षिण अफ्रिकाका लागि नन्कुलुलेको म्लाबाले २ विकेट लिइन्।
१७० रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले सम्हालिएको सुरुवात गरे पनि मध्यक्रम चल्न नसक्दा २० ओभरमा ८ विकेट गुमाएर १२९ रन मात्र बनाउन सक्यो।
ओपनर ताजमिन ब्रिट्सले ४५ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि उनले अन्य खेलाडीबाट बलियो साथ पाइनन्। दक्षिण अफ्रिकालाई कमैमा रोक्न इङ्ल्यान्डकी चार्ली डिन र लाउरेन बेलले २/२ विकेट लिए।
खेलको 'प्लेयर अफ दि म्याच' घोषित कप्तान ब्रन्टको उत्कृष्ट नेतृत्वमा इङ्ल्यान्डले यसअघि सन् २०२३ को टि-२० विश्वकप र २०२५ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकासँग ब्यहोरेको हारको बदला समेत लिएको छ।
अब उपाधिका लागि आइतबार लर्ड्स मैदानमा इङ्ल्यान्ड र साविक विजेता अस्ट्रेलियाबीच खेल हुनेछ।