२०८३ असार ११ गते , विहीबार

सरकारको सकारात्मक पहलपछि पूर्वका चिया उद्योग आजदेखि पुनः सञ्चालनमा

sajilo news
पार्थ मण्डल
२०८३ असार ११ गते , विहीबार
सरकारको सकारात्मक पहलपछि पूर्वका चिया उद्योग आजदेखि पुनः सञ्चालनमा

झापा । भारततर्फ नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण बन्द भएका चिया उद्योगहरू आजदेखि पुनः सञ्चालनमा आएका छन्। नेपाल चिया उत्पादक संघ झापाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको सकारात्मक पहलपछि बन्द उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरिएको जनाएको हो।

भारतीय चिया बोर्डले जारी गरेको  नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी)का कारण नेपाली चिया भारत निर्यातमा अप्रत्याशित अवरोध सिर्जना भएको थियो। यसले चिया निर्यातमा गम्भीर समस्या उत्पन्न गरेपछि झापा र इलामका चिया उद्योगहरू संकटमा परेका थिए। यस बारेमा समस्याको समाधानका लागि नेपाल सरकारले विशेष कार्यदल गठन गरेपछि उद्योगीहरू आशावादी बनेका छन्।

संघले चिया निर्यातमा देखिएका व्यापारिक तथा प्राविधिक समस्या समाधान गर्न, किसानका समस्या पहिचान गर्न र नेपाली चियाको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि सरकारले चालेको कदमलाई सकारात्मक रूपमा लिँदै बन्द गरिएका चिया उद्योगहरू पुनः सञ्चालनमा ल्याएको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताए ।  

संघका अध्यक्ष पराजुलीको नेतृत्वमा राजधानी पुगेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्यालयसँग छलफल गरेको र चिया क्षेत्रका विद्यमान समस्याहरूलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने तथा आवश्यक कूटनीतिक र प्रशासनिक पहल गर्ने आश्वासन प्राप्त भएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

चिया बगानमा हरियो चियापत्ती टिपाइ भइसकेको संवेदनशील अवस्था, चिया मजदुरको दैनिक जीविकोपार्जनमा परेको असर तथा किसानको हितलाई मध्यनजर गर्दै उद्योगहरू लामो समय बन्द राख्नु उपयुक्त नदेखिएको हो। त्यसैले आजको मितिदेखि बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालन गर्ने र चिया क्षेत्रलाई खुला राख्ने निर्णय गरिएको अध्यक्ष पराजुलीको भनाइ छ। 

संघले चिया क्षेत्रको दीर्घकालीन समाधानका लागि देखाएको तत्परताप्रति नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै आफ्ना मागहरू पूर्ण रूपमा सम्बोधन नभएसम्म संघको निर्णयमा एकताबद्ध रहन सम्पूर्ण चिया उद्योगी, किसान, मजदुर तथा सरोकारवालासँग आग्रह गरेको संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले जानकारी दिए। 

संघले भारतीय अवरोधका कारण असार ४ गतेदेखि झापाका नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) एउटा सरकारी र चार वटा सहकारी गरी ३२ वटा चिया उद्योग बन्द भएका थिए।  चिया उद्योग बन्द हुँदा करिब ६० हजार कर्मचारी तथा मजदुरको रोजगारी गुमेको थियो।

सम्बन्धित समाचार