२०८३ असार २ गते , मंगलबार

ओमसाई पाथीभारा अस्पताल भद्रपुरको ‘पिक एण्ड ड्रप’ सेवा सुरु

sajilo news
झापा
२०८३ असार २ गते , मंगलबार
ओमसाई पाथीभारा अस्पताल भद्रपुरको ‘पिक एण्ड ड्रप’ सेवा सुरु

भद्रपुर । झापाको भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालले बिरामीको सहजताका लागि घरदेखि अस्पतालसम्म ल्याउने र उपचारपछि पुनः घरसम्म पुर्‍याउने ‘पिक एण्ड ड्रप’ सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालले बिरामीलाई उपचार सेवामा सहज पहुँच दिलाउने उद्देश्यले दुई वटा कारमार्फत उक्त सेवा सुरु गरेको हो ।

अस्पतालका प्रबन्ध निर्देशक बालकुमार पोखरेलका अनुसार पक्की सडक पुगेका क्षेत्रका बिरामीलाई घरबाटै अस्पताल ल्याउने र उपचारपछि पुनः घरसम्म पुर्‍याउने व्यवस्था गरिएको छ । बाहुनडाँगी, काँकडभिट्टा, इटाभट्टा, धुलाबारी, चारआली, बिर्तामोड, केचना, हल्दिबारी, पृथ्वीनगर, बाह्रदशी, भद्रपुर लगायतका क्षेत्रका बिरामीले यो सुविधा लिन सक्ने प्रबन्ध निर्देशक पोखरेलले बताए ।

“एक जना बिरामीसँग थप तीन जना सहयोगी पनि गाडीमा आउन जान सक्छन्,” पोखरेलले भने, “घरदेखि अस्पतालसम्मको दूरीअनुसार प्रतिकिलोमिटर २० रुपैयाँ शुल्क लाग्नेछ । यो भाडामुखी सेवा नभई बिरामीलाई सहजता प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको सुविधा हो ।” अस्पतालले ‘पिकअप एण्ड ड्रप’ सेवा सम्बन्धी जानकारी तथा सम्पर्क नम्बर उल्लेख गरी २४ सै घण्टा सेवा उपलब्ध गराइरहेको जनाएको छ ।

अस्पताल स्थापनाकालदेखि नै बिरामीको आवश्यकता र अवस्थालाई प्राथमिकतामा राखेर उपचार सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै प्रबन्ध निर्देशक पोखरेलले आगामी दिनमा पनि बिरामी मैत्री सेवाहरू थप विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार