२०८३ जेष्ठ २५ गते , सोमबार

बिर्तामोडका कृषकलाई कृषि औजार वितरण

sajilo news
झापा
२०८३ जेष्ठ २५ गते , सोमबार
बिर्तामोडका कृषकलाई कृषि औजार वितरण

बिर्तामोड । बिर्तामोड नगरपालिकाले कृषकहरूलाई अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ। आज आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला र कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक सङ्गीता सिवाले संयुक्त रूपमा कृषकहरूलाई सामग्री हस्तान्तरण गरेका छन्।

कृषि विकास शाखाका अनुसार यस पटक कृषकहरूलाई मकै छोडाउने मेसिन २६ थान, स्प्रे ट्याङ्की १४२ थान, ड्याङ लगाउने हलो ५९ थान, झार गोड्ने काँटा २० थान र हर्वना ३० थान वितरण गरिएको छ। नगरपालिकाले मकै छोडाउने मेसिनमा ७० प्रतिशत र अन्य बाँकी सबै औजारहरूमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो।

कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईँले कृषकहरूलाई राहत मिलोस् भन्ने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष कृषि सामग्री वितरण गर्दै आएको बताइन्। उनले प्राप्त भएका कृषि औजारहरूको सही सदुपयोग गर्न कृषकहरूलाई आग्रह समेत गरिन् ।

त्यसैगरी नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले कृषक लक्षित यस्ता कार्यक्रमहरूलाई क्रमागत रूपमा अघि बढाइने प्रतिबद्धता जनाए। उनले कृषकको आवश्यकतालाई ध्यानमा राख्दै कृषि विकास शाखा तथा पशुपक्षी र मत्स्य विकास शाखा मार्फत विभिन्न प्रकारका सहयोग तथा अनुदान उपलब्ध गराउँदै आएको जानकारी दिए।

सम्बन्धित समाचार