भद्रपुरमा अव्यवस्थित फाइबर तार हटाउन ७ दिने अल्टिमेटम, नहटाए कानुनी कारबाही
भद्रपुर । भद्रपुर नगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रूपमा छरिएका फाइबर तथा नेटवर्क केबलहरू तत्काल व्यवस्थापन गर्न सम्बन्धित इन्टरनेट तथा दूरसञ्चार सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ।
नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै बिर्तामोड-भद्रपुर सडक खण्डको (भैरव चोक–लेखनाथ चोक) लगायत नगरका विभिन्न क्षेत्रमा सडक विस्तार तथा पूर्वाधार निर्माणका क्रममा विद्युत् पोल स्थानान्तरण भइरहेको जनाएको छ। यसक्रममा विभिन्न आइएसपी तथा केबल नेटवर्क सेवा प्रदायकहरूले जडान गरेका इन्टरनेट र अन्य दूरसञ्चार सेवाका फाइबर तथा नेटवर्क केबलहरू सडक क्षेत्रमा अव्यवस्थित र अलपत्र अवस्थामा छरिएको पाइएको छ । यसरी छरिएका तारहरूले सर्वसाधारणको आवतजावतमा बाधा पुर्याउनुका साथै दुर्घटनाको जोखिमसमेत बढाएको छ।
सम्बन्धित सेवा प्रदायक संस्था तथा कम्पनीहरूलाई सात दिनभित्र आफ्ना फाइबर तथा नेटवर्क केबलहरूको आवश्यक व्यवस्थापन गरी सुरक्षित अवस्थामा राख्न आग्रह नगरपालिकाले आग्रह गरेको छ । निर्धारित समयभित्र व्यवस्थापन नगरे कानुन बमोजिम कारबाही गरिने नगरपालिकाले चेतावनी दिएको छ बिर्तामोड भद्रपुर सडक खण्ड अन्तरगत अहिले नगर क्षेत्रको देउनियाँ पुलदेखि भैरव चोकसम्मको चार लेन सडकको काम भइरहेको छ । निर्माण कम्पनीले सो सडक निर्माण कार्यमा ढिलासुस्ती गर्दा सर्वसाधारणले सास्ती झेल्नु परेको छ ।
