इँट्टा उद्योगमा इँट्टाको च्याङ खस्दा तीनजना मजदुरको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित एक इँट्टा उद्योगमा इँट्टाको च्याङ खस्दा तीन जना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा गौडेता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताई मंसुर, गौडेता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत तथा भारतको लखिमपुर जिल्लाका ३५ वर्षीय अंगद कुमार रहेका छन्।
कृष्ण इँट्टा उद्योगबाट इँट्टा निकाल्ने क्रममा अचानक इँट्टाको प्रखाल (च्याङ) खस्दा उनीहरू गम्भीर घाइते भएका थिए। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनामा अन्य दुई मजदुर पनि घाइते भएका छन्। घाइते हुनेमा मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो रहेका छन्। उनीहरूको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको तथा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।