भारतमा कुटपिट गरी गम्भीर घाइते बनाइएका झापाका सन्तोषको उद्धार
झापा । भारतमा कुटपिट गरी गम्भीर घाइते बनाएका झापाका एक व्यक्तिलाई उद्धार गरी नेपाल फर्काइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर नगरपालिका–८ बाहुनडाँगी निवासी ५६ वर्षीय सन्तोष बिक भारतको उत्तर प्रदेश राज्यको बनारसस्थित एक सरकारी अस्पतालमा उपचाररत रहेको अवस्थामा उद्धार गरी स्वदेश फकाइएको हो । हाल सन्तोषको नोबेल अस्पताल विराटनगरको आइसीयुमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार गत वैशाख १० गते जिल्ला प्रहरी कार्यालय झापाका एसपी वसुन्धरा खडकाको मोबाइलमा जानकारीसहितको एउटा भिडियो सन्देश आएको थियो । जसमा सन्तोष बनारसको एक सरकारी अस्पतालमा बेवारिसे अवस्थामा उपचाररत रहेको उल्लेख गरिएको थियो । उक्त भिडियोमा देखिएको व्यक्तिको घर बाहुनडाँगी हुनसक्ने आशंकामा प्रहरी चौकी बाहुनडाँगीलाई आवश्यक खोजतलासका लागि निर्देशन दिइएको थियो ।
लगत्तै खटिएको प्रहरी टोलीले करिब आधा घण्टामै सम्बन्धित व्यक्तिको घर ठेगाना पत्ता लगाई आफन्तसँग सम्पर्क गरेका थिए । त्यसपछि आफन्तहरू प्रहरीको समन्वयमा भारतको बनारस पुगेका थिए । बनारस पुगेपछि मात्र आफन्तजनहरूले सन्तोषमाथि कुटपिट र लुटपाट भएको घटनाबारे थाहा पाएका थिए । अपरिचित व्यक्तिहरूले सन्तोषलाई कुटपिट गरी उनीसँग भएको सरसामान र नगद लुटेर फरार भएका थिए ।
घाइते अवस्थामा रहेका सन्तोषलाई त्यहीका स्थानीयले उद्धार गरी बनारसको सरकारी अस्पतालमा भर्ना गराएका थिए । आफन्तजनहरूले बैशाख १२ गते सन्तोषलाई उद्धार गरी जोगबनी नाकाबाट विराटनगर ल्याएर अस्पताल भर्ना गराएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले बताए ।