भद्रपुरमा विषादी विरुद्ध अभियान : तरकारी परीक्षण गरिने, बढी भेटिए कारबाही
भद्रपुर । भद्रपुर नगरपालिकाले तरकारी तथा सागसब्जीमा हुने विषादीको प्रयोग नियन्त्रण गर्दै उपभोक्ताको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न विशेष कार्ययोजना अघि सारेको छ। नगर कृषि विकास शाखाले मंगलबार नगरपालिकाको सभा हलमा आयोजना गरेको “विषादी सचेतना अन्तरक्रिया तथा छलफल कार्यक्रम” मा यस्तो जानकारी दिइएको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख गणेश पोखरेलले अब नगर क्षेत्रभित्र उत्पादन हुने तथा बजारमा बिक्रीका लागि ल्याइने तरकारीको स्रोत पहिचान गरिने र अनिवार्य रूपमा विषादी अवशेष परीक्षण गरिने स्पष्ट पारे। नगर प्रमुख पोखरेलका अनुसार, यस कार्यका लागि नगरपालिकाले बजेटमार्फत विशेष व्यवस्था गरिसकेको छ। कृषि थोक बजार व्यवस्थापन समिति, बिर्तामोडसँगको समन्वयमा बजारमा भित्रिने तरकारीको नियमित परीक्षण गरिनेछ। परीक्षणका क्रममा विषादीको मात्रा मापदण्डभन्दा बढी भेटिएमा सम्बन्धित व्यापारीमाथि कडा कारबाही गरिने चेतावनी दिइएको छ।
उनले नगरपालिकाले आगामी दिनमा जैविक तरकारी खेती प्रवर्द्धन गर्ने, साथै टोल–टोलसम्म रासायनिक विषादी न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि जानकारी दिए। कार्यक्रममा उपप्रमुख राधा कार्कीले विषादीयुक्त तरकारीको उपभोगका कारण क्यान्सर तथा मिर्गौला सम्बन्धी बिरामीको सङ्ख्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको बताइन्।
त्यस्तै, कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले विषादीको दीर्घकालीन असर तथा यसको सुरक्षित प्रयोगबारे प्राविधिक जानकारी दिए। भद्रपुर वडा नं. ३ का वडाध्यक्ष हेमबहादुर कार्कीले अनुगमन समितिलाई थप सक्रिय र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
भद्रपुर नगरपालिकाको यो पहलले बजारमा सुरक्षित तथा गुणस्तरीय तरकारी उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको कृषि शाखाका सुमन बिमलीले जानकारी दिए । उनका अनुसार अब छिट्टै बजारमा पुगेर तरकारी तथा सागसब्जीको विषादी परीक्षण गरिने बताए । सो कार्यक्रममा नगर क्षेत्रका कृषक तथा व्यापारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।