२०८३ बैशाख ६ गते , आईतबार

आज बैशाख ६ : शाही सेनाको गोली लागेर झापाली दुई सपुत ढलेको दिन

sajilo news
झापा
२०८३ बैशाख ६ गते , आईतबार
आज बैशाख ६ : शाही सेनाको गोली लागेर झापाली दुई सपुत ढलेको दिन

आज बैशाख ६ गते  । झापामा राजन गिरी र सुरज विश्वास सेनाको गोली लागेर शहिद भएको दिन त्यो दिन  । आज २० वर्ष पूरा भएको छ ।  आजकै दिन पूर्व राजा ज्ञानेन्द्र शाहले कायम गरेको प्रत्यक्ष शासन विरुद्ध दोस्रो जनआन्दोलन भएको थियो । झापाको सदरमुकाम भद्रपुरमा हजारौँ प्रदर्शनकारी उत्रिएका थिए । सोही क्रममा तत्कालीन राजा ज्ञानेन्द्रको आदेशमा सेनाले प्रदर्शनकारीमाथि गोली बर्षाएका थिए । सेना र प्रहरीको दमनमा परी सयौँ झापाली घाइते भएका थिए । नेपालमा २०६२ चैत २२ देखि २०६३ वैशाख ११ सम्म नेपाली जनताको व्यापक सहभागितामा जनआन्दोलन २ भएको थियो। उक्त शान्तिपूर्ण आन्दोलनका क्रममा २० जनाले सहादत पाए। 

सुरज विश्वास 
सुरज विश्वास जनआन्दोलन २ मा शहादत प्राप्त गर्ने शहीद हुन्। 'पढेर के गर्नु, जागिर पाइने होइन,' परिवारले पढ्न कर गर्दा चञ्चल र घुमन्ते स्वभावका सुरजको सधैँ एउटै जवाफ हुन्थ्यो, 'सोर्सफोर्स चल्दैन, गरिबलाई कसले चिन्छ र जागिर खानुरुु यस्तो लघुताभाषले सताएर ६ कक्षा पढ्दापढ्दै स्कूल छाडेका थिए सुरजले। उनी भद्रपुर ९ चन्द्रगढीका स्थायी बासिन्दा थिए।२०६३ वैशाख ६ गते सरकारी फौजको गोली लागेर उनी सहीद भएका हुन्। त्यस दिन सदरमुकाम चन्द्रगढीमा भेला भएका आन्दोलनकारी चारैतिर फैलिएर नाराबाजी गरिरहेका थिए। सरकारी कार्यालयभित्र छिर्न नदिन जिविसद्वारमा काँडेतार बारिएको थियो। सुरक्षाकर्मी तैनाथ थिए। आन्दोलनकारीहरू भने जसरी भए पनि भित्र पस्न ठेलमठेल गरिरहेका थिए।

भीड थाम्न नसकेपछि सरकारी फौजले अश्रुग्याँस हान्न थाल्यो। त्यस बेला सुरज पाइपबाट पानी छ्यापेर त्यसको प्रभाव कम गर्न तल्लीन थिए। लगातार ठेलमठेलपछि दिउँसो २ बजेतिर जिविसको मूल गेटमा दलहरूको झन्डा गाड्न आन्दोलनकारी सफल भए। लगत्तै सेनाको टोलीले माइकिङ गर्‍यो, 'अब पनि पछि नहटे सोझै गोली चलाइनेछ।'

युवाहरूले त्यसको परवाह गरेनन्। त्यति खेरसम्म सुरज पानी छ्याप्न छाडेर जुलुसमा मिसिइसकेका थिए। सवा दुई बजेतिर सेनाले एक्कासि भट्ट्ट गोली चलायो। सबै तितरबितर भए। धेरै जिविसभन्दा पूर्व पर्ने रङ्गशालातिर दौडिए। सुरज पनि त्यतै कुदे। रङ्गशालाछेउ पुगेका मात्र थिए, उनी भुक्लुक्कै भुईँमा ढले। सेनाले चलाएको गोली उनको टाउकोमै लागेछ।

घाइतेको उद्धारमा खटिएको झापा रेडक्रस टोलीका अनुसार त्यति बेलै गोली लागेका राजन गिरीलाई घटनास्थलदेखि अढाई किलोमिटर दक्षिणको मेची अञ्चल अस्पताल पुर्‍याएर फर्कँदा सुरजको प्राण गइसकेको थियो। प्रत्यक्षदर्शीका अनुसार उनको दायाँ कान छेउबाट गोलीले छेडेको थियो र टाउको क्षतविक्षत थियो।

राजन गिरी :
राजन गिरी जनआन्दोलन २ मा शहादत प्राप्त गर्ने शहीद हुन्। २०६३ वैशाख ६ गते प्रदर्शन सुरु भएको एक घण्टा नबित्दै प्रहरीको लाठीचार्जबाट राजन घाइते भए। छिमेकी पुष्प घलेका अनुसार खुट्टामा चोट लागेका राजन हल्का उपचारपछि फेरि जुलुसको अग्र भागमा आइपुगे। उसलाई भर्खरै प्रहरीबाट कुटिएर घाइते भएको परवाहै थिएन,' उनले भने, 'ऊ पूरै जोसमा आन्दोलनमा होमिएको थियो। सबभन्दा अगाडिको लहरमा उभिएर नारा लगाउँदै थियो।'

निरंकुशताविरुद्ध गगनभेदी नारा लगाउँदै अघि बढेको मानव सागरले मध्याह्नसम्म चन्द्रगढी घेरिसकेको थियो। त्यही क्रममा जिविस भवन अगाडिको ट्रेड युनियन चोकमा दिउँसो सवा एक बजेतिर केदारले छोरा राजनलाई भेटे। चर्को घाममा आफ्नो बुवालाई जुलुसमा हिँडिरहेको देखेर राजनले भने, 'बुवा, घाम छ, शीतलमा बस्नू।' त्यो बाबुछोराको अन्तिम भेट थियो।

'ट्रेड युनियन चोकमा ठ्याक्कै भेट भो,' घैलाडुब्बामा काँग्रेसको गाउँ सभापति रहेका केदारले छोरासँगको अन्तिम भेट सम्झँदै भने, 'उसले शीतलमा बस्नू भनेको म कहिल्यै भुल्दिनँ।' घर फिर्ने बेला पनि उनले छोरालाई केहीबेर खोजेका थिए, सँगै फर्कौँ भनेर। 'भेट भएन, 'साथीहरूसँग आउला भनेर म हिँडे,' उनले भने, 'ऊ कहिल्यै नफर्किने गरी गइसकेको रहेछ।'

सदरमुकाम घेर्ने त्यस दिनको कार्यक्रम ११ बजे सुरु हुने भनिएको थियो। तर, १० बज्दाबज्दै लाखको हाराहारीमा भेला भएका सर्वसाधारणले घडीको सुई कुरेनन्। दलहरूले तय गरेको रुट बाहिरबाट पनि प्रदर्शन थालिहाले।

तीन घण्टा जति बितेपछि एउटा युवा समूह सैन्य घेरा तोडेर प्रशासन कार्यालय जान खोज्दै थियो। त्यति बेलै फौजले जुलुसतिर ताकी-ताकी गोली चलायो। त्यसैमा राजन गिरी र सुरज विश्वासको ज्यान गयो। चार सयभन्दा बढी आन्दोलनकारी घाइते भए।

त्यस बेला आन्दोलनकारीले गोली चलाएपछि आत्मरक्षाका लागि फौजले जवाफी फाइरिङ गरेको सरकारी दाबी आएको थियो। घाइतेको उद्धारका लागि घटनास्थलमा खटिएको रेडक्रस टोलीले भने सेनाले दुईतिरबाटै गोली चलाएको बताएको थियो।

'हामीले देखि-देखि सादा पोसाकका सुरक्षाकर्मीले घुसेर गोली चलाएका हुन्,' त्यति बेला उद्धार टोलीको नेतृत्व गरेका झापा रेडक्रसका सभापति लोकराज ढकालले भने, 'त्यहीँ राजन र सुरज गोली लागेर ढलेका थिए।'

उनका अनुसार ट्रेड युनियन चोकदेखि केही पूर्व जिल्ला प्रहरी कार्यालयअगाडि राजनलाई गोली लागेको थियो। 'त्यहाँ उनी ढलेका थिए,' ढकालले भने, एम्बुलेन्समा राखेर अस्पताल लैजाँदै गर्दा मेरो काखैमा उनको प्राण गयो।' मृतक राजन गिरी हुन् भन्ने आफूलाई पछि मात्रै थाहा भएको ढकालले बताए।

घैलाडुब्बा ९ का राजन त्यस बेला राजधानीबाट भर्खरै घर आएका थिए। पाटन कलेजमा ११ पढेर झापाकै कनकाई कलेजमा १२ पढ्ने उनको योजना थियो। एक बहिनी र भाइ भएका राजन नेविसंघमा सक्रिय थिए।

आमा मीराका अनुसार काठमाडौँमा बस्न अप्ठ्यारो भएको भन्दै उनी फर्केका थिए। घरछेउमा नेविसंघले बनाउँदै गरेको छोराको सालीक स्थल पुग्दा आमा सधैँ भक्कानिने गर्छिन्। गिरी परिवारले छोराको सम्झनामा विद्यालयमा अक्षयकोषसमेत खडा गरेको छ।

सम्बन्धित समाचार