एमालेले आज देशव्यापी आन्दोलन गर्दै
नेकपा एमालेले आज देशव्यापी आन्दोलन गर्दैछ। शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले आज जिल्ला सदरमुकाममा विरोध र्यालीसहित देशभरका जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको हो।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्दारी र गौरी बहादुर कार्कीको पूर्वाग्रही जाँचबुझ आयोग खारेज गरेर अर्को आयोग गठन गर्न माग गर्दै आज दिउँसो विरोध प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विरोधपत्र बुझाउने जानकारी दिए। एमालेले घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ।
‘२०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि तत्कालीन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति हाम्रो पार्टीको सुरूदेखि नै असहमती र विरोध रहँदै आएको छ। उक्त आयोगप्रति सम्मानित सर्वोच्च अदालतले समेत गम्भीर प्रश्नहरू उठाएको कुरा विदितै छ।’ सचिवालय बैठकको निर्णयमा भनिएको छ,‘आयोगद्वारा प्रस्तुत प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको हाम्रो पार्टीको ठहर छ। तसर्थ, उक्त घटनाको निष्पक्ष र न्यायिक छानविनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोग गठन गर्न यो बैठक माग गर्दछ।’
एमाले रामेछापका सचिव प्रकाश कुमार कार्कीले पनि केन्द्रबाट जिल्लामा सर्कूलर जारी भइसकेकाले विरोध र्यालीको तयारी भएको पुष्टि गरे। उनले अदालती र कानुनी प्रक्रिया नपुर्याई मन्त्रीपरिषद्को निर्णयमार्फत राजनीतिक नेतृत्वलाई प्रतिशोधपूर्ण, पुर्वाग्राही र गैह्रकानुनी गिरफ्तारीको विरुद्धमा विरोध र्यालीसहित जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम तय भएको जानकारी दिए।
एमालेले अध्यक्ष ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक माथि गरिएको नियोजित, निर्देशित र गैरकानुनी गिरफ्तारीको विरोध, उनीहरूको रिहाई, कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षाको गर्न संयुक्त एवम् प्रभावकारी पहलकदमीका लागि राजनीतिक दलहरू, नागरिक समाज र आमजनसमुदायलाई अनुरोध गरेको छ। एमालेले अन्यदलसँग पनि संवाद गर्ने जनाएको छ। शनिबार दिउँसो पनि एमालेका जनसंगठनले प्रदर्शन गरेका थिए।