झापा गाउँपालिकामा १० शय्याको आधारभूत अस्पतालको उद्घाटन
झापा गाउँपालिकामा हालै १० शय्याको आधारभूत अस्पतालको विधिवत् उद्घाटन भएको छ। गाउँपालिका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले आज एक कार्यक्रमका बीच अस्पतालको उद्घाटन गरेका हुन् ।
स्थानीय समाजसेवी स्व. तारानिधि तिवारी र उनकी धर्मपत्नी बिसेस्वरी तिवारीले अस्पतालको निर्माणको लागि १ बिगाहा १ कठा १५.५ धुर जग्गा निःशुल्क प्रदान गरेका थिए । सो अस्पताल ७ करोड रुपैयाँको लागतमा सम्पन्न भएको कार्यवाहक अध्यक्ष थपलियाले जानकारी दिइन्। उद्घाटनको अवसरमा उक्त योगदानको कदर गर्दै जग्गादाता दानवीर र आधारभूत अस्पताल जग्गा व्यवस्थापन समितिका पदाधिकारी जयनारायण शाह लगायतलाई सम्मान गरिएको थियो।
उद्घाटन कार्यक्रममा गाउँपालिका कार्यपालिका अध्यक्ष अन्जुदेवी थपलिया, गाउँपालिका निर्वाचित अध्यक्ष जयनारायण शाह, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, वडा नं. ७ का वडाध्यक्ष सखीचन्द्र ठाकुर, वडा नं. १ का वडाध्यक्ष राजकुमार यादव र स्थानीय समाजसेवी लक्ष्मी उप्रेती, टङ्क विश्वकर्मा लगायतले अस्पतालको सञ्चालनपछि स्थानीय समुदायलाई प्राप्त हुने सुविधाबारे आआफ्नो धारणा राखेका थिए ।
अस्पताल सञ्चालनसँगै झापा गाउँपालिकामा स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गरिएको छ, जसले सेवाग्राहीहरूलाई स्वास्थ्य सेवाको पहुँचलाई अझ सहज बनाएको छ। अस्पतालमा एक डाक्टरसहित १४ जना स्वास्थ्य कर्मचारीहरूले सेवा प्रदान गर्दै आएका र अस्पताललाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउन पालिकाले कुनै पनि कसर नछाड्ने प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए ।