झापामा गिरिजाप्रसाद कोइराला सामुदायिक भवनको शिलान्यास
झापा। झापाको गौरादह नगरपालिका–९ बैगुनधुराको झमकचोकमा गिरिजाप्रसाद कोइराला सामुदायिक भवनको शिलान्यास भएको छ । गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान बैगुनधुराले निर्माण गर्न लागेको उक्त भवनको शुक्रबबार नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले शिलान्यास गरेका हुन् ।
स्थानीयवासी महेन्द्र चम्लागाईँले निःशुल्क उपलब्ध गराएको दुई कट्ठा जग्गामा शिलान्यास गरिएको उक्त भवन ५० फिट लामो र ३० फिट चौडाइको हुने प्रतिष्ठान अध्यक्ष उत्तमबहादुर चम्लागाईँले बताए । भवन निर्माणका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने र जुटाउने क्रम जारी उनले बताए । प्रतिष्ठानको आजीवन सदस्यबाट जनही रु पाँच हजार सहयोग सङ्लकन गरिने भएको छ ।
प्रतिष्ठान अध्यक्ष चम्लागाईँले भवन निर्माणका लागि सहयोगका अपिलसमेत गरेका छन् । “यो क्षेत्रमा सार्वजनिक कार्यक्रमका लागि स्थान अभाव हुँदा समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “यो असहजता भवन निर्माणसँगै हट्ने विश्वास लिएका छौँ, सबैलाई सहयोग गर्न आग्रहसमेत गर्दछु ।”
भवन शिलान्यास कार्यक्रममा बैगुनधुराको डाँडागाउँस्थित बलभद्र आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । सँगै विद्यालयलाई घण्टी, विज्ञान सामग्री, नेपालको नक्सालगायत सामग्री वितरणसमेत गरिएको अध्यक्ष चम्लागाईँले जानकारी दिए । बलभद्र लोपोन्मुख सन्थाल समुदायका विद्यार्थीको बाहुल्यता रहेको विद्यालय हो ।
सोही कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश श्रमिक तथा ट्रेड युनियन विभागले झापा क्षेत्र नम्बर ४ का २५ सामुदायिक विद्यालयमा सञ्चालन गरेको हिज्जे तथा निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई प्रमाणपत्र र सो कार्यमा सहयोग गर्नुहुने ३० जना शिक्षकलाई मायाको चिनो प्रदान गरिएको थियोे ।
कार्यक्रममा जेहेन्दार विद्यार्थी प्रोत्साहन पुरस्कारद्वारा लक्ष्मीनारायण माविका छात्रा प्रिया दर्नाललाई नगद रु १० हजार प्रदान गरिएको छ । दर्नाल सो माविबाट एइई उत्तीर्ण गर्ने जेहेन्दार विद्यार्थी हुनुहुन्छ । कार्यक्रममा बैगुनधुरा कीर्तन मण्डली सहयोग स्वरूप डायरी हस्तान्तरण गरिएको सामुदायिक भवन निर्माण समितिका अध्यक्ष दिवसपति पोखरेलले बताए ।
कार्यक्रममा कांग्रेस झापा सभापति देउकुमार थेवे, महासमिति सदस्य सीताराम भट्टराई, प्रतिष्ठानका उपाध्यक्ष खेम प्रसाईँ, सचिव कुवेरपति पोखरेललगायतले भवन निर्माणले गिरिजाप्रसाद कोइरालाको योगदानको स्मरणलाई चिरस्थायी बनाउने बताए । उनीहरूले सामाजिक कार्यमा सर्वपक्षीय सहयोग जुट्ने विश्वास व्यक्त गरे । विसं २०६७ मा किरण भट्टराईको अध्यक्षतामा गठन भएको प्रतिष्ठानले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।