केरामा पनि बिचौलियाकै रजगज : किसानको हातमा ७० रुपैयाँ, बजारमा ३७० रुपैया
किसानले स्थानीय जात (मालभोग) केरा प्रतिदर्जन ७० देखि ८५ रुपैयाँमा बिक्री गरिरहँदा बजारमा भने ४ सय रुपैयाँसम्म पुगेको छ । हाइब्रिड जात (विलियम, जी–नाइन) ५० देखि ६० रुपैयाँ मात्र पाइरहेका किसानहरू बजारको मूल्य सुनेर आश्चर्यचकित छन् । उनीहरूले बिचौलियामार्फत बजारमा पठाएको केरा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म बिक्री भइरहेको छ ।
यसको अर्थ किसानले बिक्री गरेको मूल्यभन्दा चारदेखि पाँच गुणासम्म महँगोमा खरिद गर्न उपभोक्ता बाध्य छन् । बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढिरहेको र किसानले भने उत्पादनको उचित मूल्य नपाइरहेको भन्दै नेपाल केरा उत्पादक महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले वर्तमान अवस्थालाई केवल मूल्यवृद्धिको समस्या मात्र नभई कृषि बजार व्यवस्थापन, आपूर्ति प्रणाली, आयात नीति, जैविक सुरक्षा र किसान संरक्षणसँग जोडिएको संरचनागत समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
महासंघ अध्यक्ष विष्णुहरि पन्तले किसानले बारीबाट बेच्ने मूल्य र उपभोक्ताले बजारमा तिर्न ुपर्ने मूल्यबीच अत्यधिक अन्तर रहेको तथ्यांक प्रस्तुत गर्दै बिचौलियाले चलखेल गरिरहेको बताए । व्यापारी जसरी पनि भारतीय केरा भित्र्याउनका लागि अहिले कृत्रिम अभाव र मूल्यवृद्धिको नाटक गरिरहेका छन् ।
सामान्यतया उत्पादन स्थलबाट उपभोक्तासम्म वस्तु पुग्दा ढुवानी, भण्डारण, क्षति, कर, श्रम र खुद्रा व्यापार लागत जोडिनु स्वाभाविक हो । तर यति ठूलो मूल्य अन्तरले लागतभन्दा बढी अस्वस्थ मुनाफा शृंखला सक्रिय रहेको देखिएको छ । महासंघले यही अवस्थालाई बिचौलियाको अत्यधिक हस्तक्षेप भनेको छ ।
किसान कमजोर बार्गेनिङ शक्तिका कारण सस्तोमा बेच्न बाध्य हुने, तर बजारमा सीमित व्यापारी समूहले मूल्य निर्धारण गर्ने प्रवृत्ति मौलाएको महासंघको निष्कर्ष छ । भारतीय केराको आयात रोकिएपछि बजारमा आपूर्ति घटेको, मूल्य आकासिएको र उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएको भन्ने भाष्य स्थापित गर्न बिचौलियाहरूको लागिपरेको आरोप रहेको छ ।
नेपाल केरामा आत्मनिर्भर जस्तै भइसकेको अवस्थामा यस्तो हुनु गम्भीर आश्चर्यको कुरा रहेको महासंघको ठम्याइ छ । साउनदेखि पुससम्म त नेपाली केरा मागभन्दा बढी हुने तथ्यांक केरा उत्पादकहरूको छ । अहिले आपूर्ति भन्दा अलि माग बढी नै भए पनि किसानले सोअनुरूप मूल्य नपाउनुमा महासंघको ध्यानाकर्षण भएको अध्यक्ष पन्तले बताए । सरकारले ‘पानामा रोग’ फैलिन सक्ने जोखिमलाई आधार बनाएर भारतीय केरा आयातमा कडाइ गरेपछि यसको प्रत्यक्ष असर बजार संरचनामा परेको हो ।
पहेंलो केरा ‘सुन’जस्तै महँगो
सामान्यतया सर्वसुलभ फलफूल मानिने केरा अहिले धेरै उपभोक्ताका लागि महँगो वस्तु बनेको छ । काठमाडौं उपत्यकालगायत सहरी बजारमा सामान्य आकारको केरा प्रतिदर्जन २२० देखि २५० रुपैयाँसम्म बिक्री भइरहेको छ । ठूलो आकारको केरा भने ३०० देखि ३५० रुपैयाँसम्म पुगेको छ । यसको अर्थ एउटा केराको मूल्य २० देखि ३० रुपैयाँसम्म पुगेको छ । केही महिनाअघि यही मूल्यमा उपभोक्ताले दुई वा तीनवटा केरा किन्न सक्थे । कतिपय उपभोक्ताको भनाइमा अहिले केरा सुन जस्तै दिनप्रतिदिन महँगो हुँदै गएको छ । आजको राजधानी दैनिकमा खबर छ ।