२०८३ बैशाख ९ गते , बुधबार

नेकपाबाट झापा-५ मा तामाङ र बस्नेतसहित ५ जना सिफारिस

sajilo news
झापा
२०८२ पौष ९ गते , बुधबार
नेकपाबाट झापा-५ मा तामाङ र बस्नेतसहित ५ जना सिफारिस

नेपाली कम्युनिस्ट पार्टीबाट झापा क्षेत्र नं ५ का लागि आसन्न प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारमा पाँचजनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा रन्जित तामाङ, सुरेन्द्र बस्नेत, ठालुप्रसाद गौतम, दिपेनवाला राई र हरिमाया मैनाली छन् । झापा–५ यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएको क्षेत्र हो । यो क्षेत्रमा यसपटक हुने निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

तामाङ र बस्नेत पार्टीका केन्द्रीय सदस्य हुन् । तामाङ तत्कालीन माओवादी केन्द्र निकट अनेरास्ववियू ( क्रान्तिकारी) का पूर्वअध्यक्ष पनि हुन् भने उनी तत्कालीन माओवादी केन्द्रको जिल्ला इन्चार्जको भूमिकामा थिए ।

बस्नेत सोही क्षेत्रमा पर्ने दमक नगरपालिका निवासी हुन् । उनी राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष समेत हुन् । बस्नेतको यही पुस २१ गते चार वर्षे कार्यकाल सकिँदैछ ।

अनेरास्ववियू (क्रान्तिकारी) को वरिष्ठ उपाध्यक्ष, पार्टी उपत्यका विशेष प्रदेशको सचिवको जिम्मेवारी पनि बस्नेतले निभाएका थिए । सिफारिस भएका गौतम प्रेस सेन्टरका नेता हुन् । राई विद्रोही जनता समाजवादी पार्टीबाट हालै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । त्यस्तै मैनाली पूर्व एकीकृत एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएकी हुन् ।

यसैगरी झापा–५ बाट समानुपातिकतर्फ राधिका ओझा, भुमिका कोइराला र सुमित्रा वाङ्देल सिफारिस भएका छन् । जिल्लामा क्रियाशील केन्द्रीय सदस्यहरूको बैठकले स्थानीय कमिटीको सिफारिसको आधारमा केन्द्रमा सिफारिस गरेको कार्यदल सदस्य झलकसिंह दर्लामीले बताए । अनलाइन खबरबाट

सम्बन्धित समाचार