२०८३ बैशाख ९ गते , बुधबार

पत्रकार महासंघ झापाको स्थापना दिवसमा रक्तदान र झण्डोत्तोलन

sajilo news
झापा
२०८२ पौष ९ गते , बुधबार
पत्रकार महासंघ झापाको स्थापना दिवसमा रक्तदान र झण्डोत्तोलन

नेपाल पत्रकार महासंघ झापा शाखाको ३७औं स्थापना दिवसको अवसरमा बुधवार रक्तदान र कार्यालयमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ ।
हाल झापामा रगतको अभाव देखिएको हुँदा मानवीय सेवामा टेवा पु¥याउने उद्देश्यले आफ्नो स्थापना दिवसलाई पत्रकार महासंघ झापाले रक्तदान कार्यक्रम गरेर मनाएको बताइएको छ । महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालको प्रमुख आतिथ्यमा बिर्तामोडस्थित अतिथि सदनमा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेका थिए ।
प्रमुख अतिथि ढकालले दान मध्येको महादान रक्तदानको आयोजना गरेर पत्रकार महासंघ झापाले मानवताको सेवामा महत्त्वपूर्ण पुण्यकार्य गरेको भन्दै प्रशंसा गरे । उनले रगतको अभाव पूरा गर्न स्वस्थ नागरिकले नियमित रक्तदान गर्नुपर्नेमा जोड दिए । ब्लड डोनर्स सोसाइटी झापाको सहकार्य र नेपाल रेडक्रस सोसाइटी झापा शाखा तथा बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो ।
कार्यक्रममा महासंघ झापाका संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराल, पूर्व अध्यक्षहरू कृष्ण हुमागाईँ, गणेश पोखरेल, चेम्बर अर्फ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनकी अध्यक्ष पुष्पाञ्जली सिन्हा, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, सञ्चारिका समूह झापाकी अध्यक्ष लीला अनमोल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
अतिथि वक्ताहरूले व्यावसायिक, मर्यादित, तथ्यपरक पत्रकारितामा जोड दिए । उपाध्यक्ष सुब्रत न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए । झापा ब्लड डोनर्स सोसाइटीका अध्यक्ष विष्णु आचार्य, संस्थापक रमेश दाहाल लगायतका अभियानकर्मीले कार्यक्रममा संयोजनको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेन–जी युनाइटेड मुभमेन्ट नेपाल झापा, पत्रकार, विद्यार्थी लगायत समाजका विभिन्न क्षेत्रका रक्तदाताहरूले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रममा पत्रकार तथा हल्दिबारी प्रेस क्लबका अध्यक्ष नेत्रविक्रम विमलीले १२०औं पटक रक्तदान गरेका थिए ।
यसैबीच बुधवार नै स्थापना दिवसको अवसरमा महासंघको बिर्तामोडस्थित कार्यालय भवनमा झन्डोत्तोलन गरिएको छ । महासंघका संस्थापक सचिव तथा पूर्व अध्यक्ष तारा बराल, पूर्व अध्यक्ष कृष्ण हुमागाईँ, वर्तमान अध्यक्ष एकराज गिरी, पदाधिकारी तथा सदस्यको उपस्थितिमा राष्ट्रिय झन्डा र महासंघको झन्डा झन्डोत्तोलन गरिएको हो ।

सम्बन्धित समाचार