इलाममा जंगली च्याउ खाँदा एकको मृत्यु, चारजना सिकिस्त
इलाममा जंगली च्याउ खाएर एक जनाको मृत्यु भएको छ । जंगली च्याउ खाएर सिकिस्त बनेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको हो । इलाम माङसेबुङ-५ लारुम्बा घर भई हाल सूर्योदय-४ ठुलो श्रीबुङगस्थित आमत थुलुङ राईको घरमा डेरामा बसी ज्यालामा चिया टिप्ने काम गर्दै आएका तीन जनाले मंगलवार बेलुका जंगली च्याउ खाएका थिए । जंगलबाट ल्याएको जंगली च्याउ खाएर इलाम माङसेबुङ-५ लारुम्बा बस्ने ५२ वर्षीय अमर लावती ,सोही ठाउँ बस्ने १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनीषा थेगिम लिम्बू बुधवार दिउँसो सिकिस्त बनेका थिए ।
उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको थियो । त्यसमध्ये नुमा लावतीको आज दिउँसो २.४० बजे विराट नर्सिङ विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको शव सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
आजै जंगली च्याउ खाएर इलाममा आमा छोरी सिकिस्त भएका छन् । आज बिहान अन्दाजी ११ बजे इलाम चुलाचुली– ४ पालिका टोल बस्ने डम्बरबहादुर राईकी श्रीमती ४२ वर्षीया पुनम राई र उनकी छोरी १८ वर्षीया नाम्ची राईले आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका थिए ।
सोही च्याउ खाएर उनीहरू बिरामी भएका हुन् । दुवै जनाको आम्दा अस्पताल दमकमा उपचार भइरहेको छ । बोल्न सक्ने दुवै जनाको अवस्था मध्यम रहेको इलाम प्रहरीले जनाएको छ । इलामको प्रहरी प्रशासनले जंगली च्याउ नखान सबैलाई आव्हान गरेको छ ।