सीमावर्ती गलगलियामा भीषण आगलागी, भद्रपुरको दमकलले निभायो
भद्रपुर । झापाको भद्रपुर सीमा जोडिएको भारतीय सीमावर्ती गलगलिया बजारमा लागेको भीषण आगो नेपालीहरूले सहयोग गरेर निभाएका छन् । गएराति ९:३० बजेतिर सीमासँग जोडिएको सीमावर्ती बजार गलगलियामा भीषण आगलागी शुरु भएपछि भागाभाग भएको थियो । माछा, कपडा, औषधी, खाद्यान्नलगायत गरी आधा दर्जन पसल आगलागीको चपेटामा परिसकेका थिए । प्रत्यक्षदर्शीका अनुसार मासु पसलबाट लागेको आगो यति छिटो फैलियो कि पसलेहरूले आफ्ना सामान निकाल्न सकेका थिएनन् । मासु पसलमा रहेका सिलिन्डरसमेत पड्किएर आगो झन् फैलिएको प्रत्यक्षदर्शीले बताएका छन् । आगो फैलिएपछि
स्थानीयहरू तत्काल उद्धार कार्यमा जुटेका थिए । त्यही बेला स्थानीय जनप्रतिनिधि मुन्ना सिंहले भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेललाई घटनाबारे जानकारी दिए । सूचना प्राप्त हुने बित्तिकै नगर प्रमुख पोखरेलले विलम्ब नगरी नगरपालिकाको दमकल घटनास्थलतर्फ पठाइहाले । भद्रपुरबाट गएको दमकल टीमका चालक कमल नेपाल, हवल्दार उदय शेर्पा, सत्य राजवंशी, विकास सिटौला र विक्रम मिश्रले मोर्चा सम्हाल्दै आगो नियन्त्रणमा जुटिहाले । गलगलिया थानाको फायर ब्रिगेडको टीम किशनगंजमा चलिरहेको परीक्षाका लागि गएका कारण पोठियाबाट पठाइएको दमकल करिब एक घण्टापछि मात्र आइपुगेको थियो । बङ्गाल नक्सलबारीको दमकल आई पुग्दासम्म नेपाली दमकलकर्मी, स्थानीय र सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिइसकेका थिए ।
आगो निभाउन हजारौँ स्थानीयसँगै नेपाली नागरिक र पश्चिम बङ्गालका सीमावर्ती क्षेत्रका मानिसहरूले समेत सहयोग गरेका थिए । कसैले बाल्टिनबाट पानी ओसारे भने कसैले पाइप र अन्य संशाधनमार्फत दमकलकर्मीहरूलाई सहयोग गरेका थिए । अथक प्रयास र सामूहिक सङ्घर्षपछि अन्ततः आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो । सो भीषण आगलागीबाट माछा व्यापारी नूर आलमको पसल र डाक्टर समादरको औषधी पसलमा बढी क्षति पुगेको छ । साथै कपडा, खाद्यान्न , तरकारीलगायतका पसलमा क्षति भएको छ । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट लौखाको क्षति भएको छ ।
यदि भद्रपुरबाट दमकल तत्काल नगएको भए र एसएसबी, प्रहरी र स्थानीयहरू नजुटेको भए पुरै गलगलिया बजार आगलागीबाट स्वाहा हुने थियो । आफूलाई फोनमार्फत खबर आउने बित्तिकै नगरपालिकाको दमकल पठाइहालेको भद्रपुरका नगर प्रमुख पोखरेलले बताए । गलगलियाको आगलागीले फेरि एक पटक साबित गरिदियो कि आपत विपतमा सीमाले छेक्दैन । भारत र नेपालका नागरिकहरूले काँधमा काँध मिलाएर आगो निभाएका छन् ।
नेपाली दमकलकर्मी, एसएसबीका जवान, प्रहरी र सयौँ स्थानीयको संयुक्त प्रयासबाट ठूलो क्षति हुनबाट जोगिएको छ । यतिबेला दुवै देशका नागरिकहरूको एकता र मानवीय सहयोग चर्चाको विषय बनेको छ । भादगाउँ ग्राम पञ्चायतको गलगलिया बजार भर्ने अधिकांश नेपाली ग्राहकहरू हुने गरेका छन् ।