२०८३ असार ३ गते , बुधबार
कचनकवलमा घर जलेर नष्ट, लाखौँको क्षतिको अनुमान
झापाको कचनकवल गाउँपालिका–४ पश्चिम लोदाबारीमा गएराति आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। राति करिब ८:१५ बजे स्थानीय विमला गणेशको टिनको छानो र बाँसको टाटीबेरा भएको घरमा अचानक विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, सुनचाँदी तथा नगदसमेत जलेर क्षति पुगेको छ। यद्यपि घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन।
स्थानीय बासिन्दा र दमकलको संयुक्त प्रयासमा आगो राति करिब ९:१५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।