मन्दिरमा दलितलाई निधेष, प्रहरीमा उजुरी
बाजुरा । सदरमुकाम मार्तडीमा रहेको बडिमालिका मन्दिरमा पूजा गर्न गएका दलित समुदायमाथि पुजारीले जातीय विभेद गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा निवेदन परेको छ। श्रीकृष्ण जन्माष्टमीको दिन लाग्ने पूजामा सहभागी हुन गएका दलित समुदायका युवतीको हातको पूजा सामग्रीसहितको थाली मन्दिरका पुजारी दलबहादुर रावलले बाहिर फालिदिएर टीका लगाउन अस्वीकार गरेको पीडित युवती संगीता विकले बताइन्।
पुजारीले बडिमालिका नगरपालिका–९ का संगीता विक, झरना विक, सोनु विक, शान्ति विक, वर्षा विक, सावित्रा विक, विपना विकसहितको टोलीमाथि विभेद गरेको पीडित युवतीहरूले बताए। ‘सँगै रहेका अरूलाई केही नभनी पुजारीले टीका लगादिनुभयो, पीडित झरना विकले भनिन्, ‘तर हामीहरूलाई चामलका दानाले हिर्काउँदै तिमीहरू किन आएको ? यो तिमीहरूको हक नलाग्ने ठाउँ हो, गइहाल भन्दै सार्वजनिक रूपमा अपमान र विभेद गर्नुभयो।’
जन्माष्टमीको दिनको पूजाका लागि गैरदलित र दलित दुवै समुदायका व्यक्तिहरू बिहानैदेखि मन्दिरमा लाइन लागेका थिए। संगीतासहितको टोली बिहान साढे ८ बजे मन्दिर पुगेको थियो। साढे ९ बजेतिर दलित समुदायका युवतीहरू मन्दिरको ढोकामा पुगेका थिए। तर, कथित तल्लो जातका मान्छेहरू पनि आउन हुन्छ ? भन्दै पुजारीले बाहिर जान निर्देशन दिएका थिए। त्यसैकारण मूल मन्दिरको टीका ग्रहण नै नगरी घर फर्किनु परेको उनीहरूको दुखेसो छ।
‘तिमीहरूले आफ्नो जात थाहा पाउनुपर्ने हो। यहाँँ आउनै नहुने हो, किन आएको ?, अहिले नै गइहाल भन्दै विभेद गरेपछि आफूहरू केही नभनी फर्किएको दुखेसो उनीहरूको छ। बडिमालिका मन्दिरको पूजाआजका क्रममा दलित समुदायमाथि पटक–पटक विभेद हुने गरेको छ। केही महिनाअगाडि ब्राह्मणले मन्दिरको ढोका नै बन्द गरेर गएपछि एक जोडी (दलित समुदाय) ले विवाहसमेत गर्न नपाएको उजुरी परेको थियो। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।