२०८३ आश्विन १३ गते , मंगलबार

विराटनगरमा तास खेल्ने ८ जना पक्राउ

sajilo news
मोरङ
२०८३ आश्विन १३ गते , मंगलबार
विराटनगरमा तास खेल्ने ८ जना पक्राउ

विराटनगर महानगरपालिका–६ सरोचियामा रातको समयमा प्रहरीलाई देखेपछि तास खेलिरहेकाबीच भागदौड मच्चिएको छ । प्रहरीबाट उम्किने क्रममा घरको दुई तला माथिदेखि हामफालेपछि एक जनाको खुट्टा भाँचिएको छ । 

प्रहरी टोली गस्ती गर्दै सोमबार राति करिब ११:३० बजेतिर सरोचिया पुगेको थियो । प्रहरीलाई देख्नासाथ लालु पासवानको घरबाट होहल्ला गर्दै भागभाग चल्यो । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार घरबाट केही व्यक्ति भागिरहेको देखेपछि प्रहरीको गस्ती टोली घटनास्थल पुगेको थियो । 
त्यहाँ पुगेर बुझ्दा तास खेल्नेहरुबीच भागदौड मच्चिएको पाइएको उनले बताए । भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाले दुई तलामाथिबाट हामफालेका थिए । जमिनमा खस्दा उनको दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । 

एम्बुलेन्स चालकसमेत रहेका मुखियाको विराटनगरस्थित श्री अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । एसपी कटवालका अनुसार घटनास्थलबाट घाइते मुखियासहित ८ जनालाई नियन्त्रणमा लिइएको छ । मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत तथा विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइरालालाई पक्राउ गरिएको जानकारी उनले दिए । 
प्रहरीले उनीहरूको साथबाट तासका साथै नगद ४८ हजार ३ सय ९५ रुपैयाँ बरामद गरेको छ । नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान अघि बढाइएको एसपी कटवालको भनाइ छ । भागदौडका क्रममा अर्का एक जनालाई पनि सामान्य चोट लागेको उनको भनाई छ।
स्थानीयवासीका अनुसार पासवानको घरमा तास खेल्ने जमघट नियमितजस्तै हुने गरेको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार