भद्रपुरमा फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतना
भद्रपुर । झापाको भद्रपुरमा दिगो तथा एकीकृत फोहोर मैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । भद्रपुर नगरपालिकाको आयोजना तथा विराट प्राविधिक शिक्षा एवम् परामर्श प्रा. ली.को प्राविधिक सहयोगमा भद्रपुर नगरपालिका, वडा नं ५ र ६ का सरोकारावालाहरु सोमबार बीच कार्यक्रम सञ्चालन गरिएको हो ।
वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की र वडा नं ६ का वडाध्यक्ष रतिया राजवंशीको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले गरेका थिए । उनले फोहोर व्यवस्थापन चुनौतीपूर्ण विषय भएकोले फोहोर व्यवस्थापनमा प्रत्येक नागरिक सचेत हुनुपर्ने बताए । उनले फोहोरलाई स्रोतमै वर्गीकरण गर्न सके व्यवस्थापन केही सहज हुनसक्ने उल्लेख गरे ।
वडा सदस्य जेष्ठमल ठाकुरले स्वागत र विराट प्राविधिक शिक्षा एवम् परामर्श प्रा.ली.का व्यवस्थापक दीपक पोखरेलले सञ्चालन गरेको कार्यक्रममा सहजकर्ता विजय तिम्सिनाले फोहोर मैला व्यवस्थापनका विभिन्न पक्षमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा कुहिने र नकुहिने फोहोरलाई अनिवार्य रुपमा छुट्टाएर राख्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा कार्यपालिका सदस्य सन्ध्या डङ्गोल, लक्ष्मी परियार, नगरपालिकाको वन वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख नेत्रप्रसाद पोखरेललगायतले धारणा राखेका थिए ।
असार १० गते सुरु गरी नगरपालिकाका अन्य ८ वटा वडामा यसअघि नै आयोजना गरिएको सचेतना कार्यक्रम सोमबार वार्ड नं ५ र ६ को संयुक्त कार्यक्रमका साथ समापन गरिएको वन वातावरण तथा विपद् व्यवस्थापन समितिका सहसंयोजक अर्जुन बानियाँले जानकारी दिए ।