२०८३ बैशाख १६ गते , बुधबार

बुद्धशान्तिमा भौँतारिएका जंगली हात्तीका कारण स्थानीय बासिन्दा त्रसित

sajilo news
झापा
२०८३ बैशाख १६ गते , बुधबार
बुद्धशान्तिमा भौँतारिएका जंगली हात्तीका कारण स्थानीय बासिन्दा त्रसित

झापाको बुद्धशान्तिमा दुईवटा जंगली हात्तीका कारण बासिन्दाहरू त्रसित भएका छन् । आज बिहान बुद्धशान्ति–२ स्थित जयपुरको मकैबारीमा देखिएका दुईवटा जंगली हात्ती बुद्धशान्ति–४ स्थित जुनेली बस्ती नजिकको चिया बगानमा भौँतारिरहेकाले स्थानीयहरू त्रसित भएका हुन् । सर्वसाधारणहरू घरबाहिर निस्कन डराइरहेका छन् भने विद्यालय जाने बालबालिकाहरू समेत प्रभावित भएका छन्।

खेतबारी तथा चिया बगानमा क्षति पुग्ने सम्भावना उच्च रहेको छ। साथै, भीड नियन्त्रण नभएमा मानव–हात्ती द्वन्द्व बढ्न सक्ने खतरा देखिएको छ । त्यसैले सम्बन्धित निकायले स्थानीयलाई सुरक्षित दूरी कायम गर्न, भीड नगर्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरिरहेको छ। सुरक्षाकर्मीको समन्वय हात्तीलाई सुरक्षित रूपमा जंगलतर्फ फर्काउने प्रयास जारी रहेको छ।

इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज प्रहरी नायब निरीक्षक चन्द्र राउतको कमान्डमा खटिएको प्रहरी टोलीले हात्तीलाई सुरक्षित रूपमा चिया बगानबाट जंगलतर्फ फर्काउने प्रयास गरिरहेको छ। स्थानीय बासिन्दाहरू चारैतिरबाट जम्मा भई हात्तीलाई घेरेपछि हात्तीहरू आफ्नो प्राकृतिक बाटो समात्न नसकेको बुझिएको छ, जसका कारण हात्तीहरू झन् आत्तिने र अनियन्त्रित हुने जोखिम बढेको छ।

केही दिनअघि पनि त्यही जयपुर क्षेत्रमा मकैबारीमा अलपत्र परेको हात्तीलाई इलाका प्रहरी कार्यालय बुधबारेको पहलमा सफलतापूर्वक रेस्क्यु गरी सुरक्षित रूपमा जंगलतर्फ पठाइएको थियो।

सम्बन्धित समाचार