बिर्तामोडका लघु उद्यमीहरूलाई प्रविधि सहयोग
बिर्तामोड । बिर्तामोड नगरपालिकाले लघु उद्यमीहरूलाई प्रविधि सहयोग गरेको छ । गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले विभिन्न वडाका उद्यमीहरूलाई आज प्रविधि हस्तान्तरण गरेको हो ।
नगरपालिकाको हलमा आयोजित एक कार्यक्रमका विच लुगा सिलाउने मेशिन १० थान, इन्टरलग मेशिन ४ थान, ब्याग सिलाउने मेशिन १ थान, तौल मापन गर्ने मेशिन १ थान, अचार बनाउनका लागि ग्यास चुलो १ थान, बाख्रा पालनका लागि तारजाली १८ थान वितरण गरिएको हो । यस्तै धूप पेपर कटिङ मेशिन १ थान, पोते उन्नका लागि ग्लु गन २० थान, ब्युटी पार्लरको लागि आइरन ६ थान, ड्रायर ६ थान वितरण गरिएको कार्यक्रम संयोजक चनिमाया तामाङले जानकारी दिइन् ।
ब्याग सिलाउने मेशिन वडा नम्बर ९ को पारिजात उद्यमी समूहलाई प्रदान गरिएको हो । उक्त सामाग्रीहरू नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, उप प्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला, वडा नम्बर ३का वडाअध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ६ का वडाअध्यक्ष सूर्य कन्दङ्वा र वडा नम्बर १० का वडाअध्यक्ष दुर्योधन गुरुङले संयुक्तरुपमा हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईँले आफ्नो सिप र क्षमतालाई सदुपयोग गर्दै अघि बढ्नु पर्ने बताइन । राज्यको सम्पत्ति दुरुपयोग गर्न नहुने भन्दै उनले नगरले प्रदान गरेका सामाग्रीहरूको सही सदुपयोग गर्न आग्रह गरिन् । सिपलाई श्रम र श्रमलाई बजारसँग जोड्नु पर्ने बताउँदै नगर प्रमुख प्रसाईँले वैदेशिक रोजगारीमा जानु भन्दा यही मेहनत गर्न सके जीवनस्तर उकास्न सकिने धारणा राखिन । उनले आर्थिक उपार्जनका लागि उत्पादनमा जोड दिन सहभागीहरूलाई आग्रह गरिन्।
यस्तै नगर उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौलाले गरिबी निवारणका लागि गरिएको यो सहयोग ठिकसँग उपयोग गर्नु पर्ने बताए ।प्रविधिसँग जोडेर काम गर्नुपर्ने बताउँदै उनले आज वितरण गरिएको प्रविधि उपयोग भए नभएको बारे नगरले अनुगमन गर्ने बताए । अनुगमनका क्रममा सामाग्री उपयोग नभएको पाइए फिर्ता ल्याएर अन्यलाई वितरण गर्ने जनाइएको छ ।
कार्यक्रममा लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले प्रदान गरेको तालिममा सहभागीहरूलाई प्रमाण पत्र वितरण गरिएको छ । ब्युटी पार्लर तालिममा सहभागी ६ जना, सिलाई कटाई तालिममा सहभागी १३ जना र एसी,फ्रिज मर्मत तालिममा सहभागी १ जनालाई प्रमाण पत्र प्रदान गरिएको हो ।
नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ब्युटी पार्लर, सिलाई कटाई , फुल बनाउने, धुपकाँटी बनाउने, मुढा बनाउने, ढाका बुनाई, पोते बनाउने, अचार बनाउने लगायतका महत्त्वपूर्ण तालिमहरू प्रदान गर्दै आएको छ ।