नगरवासीलाई कारबाहीको चेतावनी दिँदै शिवसताक्षी नगरपालिका सहकारीको ऋण असुलिदिँदै
झापा । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको ताकेताले आर्थिक सङ्कटमा परेका ऋणीहरू हैरान भइरहेका बेला शिवसताक्षी नगरपालिकाले सार्वजनिक सूचना जारी गरी समयभित्र सहकारीहरूको ऋण तिर्न चेतावनी दिएको छ ।
सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुली गरिदिन नगरपालिका स्वयं लागेको देखिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जारी गरेको सूचनामा यदि समयमा सहकारीको ऋण नतिरी अटेर गरे वा सम्पर्कमा नजाने ऋणीहरूको नाम सार्वजनिक गर्नुका साथै प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।
शिवसताक्षी नगरपालिकाको नियमन क्षेत्रभित्र ५० वटा सहकारीहरू रहेका छन् । ऋण असुली गरिदिनका लागि नगरको एउटा महिला सहकारीले नगरपालिकामा लिखित निवेदन दिएको र अरूले मौखिक रुपमा भनेपछि सो सूचना जारी गरिएको सहकारी अधिकृत बद्री दाहालले बताए । उनले सहकारीको ऋण उठाइदिने भन्दा पनि सहकारीहरूको आग्रहमा सो सूचना जारी गरिएको जानकारी दिए । उनले गलत गर्ने शिवसताक्षीका सहकारीहरूमाथि पनि उजुरी परेको जानकारी दिए । शिवसताक्षीका दुई वटा सहकारीले निक्षेपकर्ताको बचत फिर्ता नगरेर कार्यालय बन्द गरेका छन् ।
ती दुई वटा समस्याग्रस्त सहकारीको बारेमा अनुसन्धान गर्न कार्यपालिका सदस्य रामनरेश शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ । जसको सदस्यहरूमा सहकारी अधिकृत बद्री दाहाल र लेखा अधिकृत प्रकाश योङहाङ रहेका छन् । लघुवित्त र सहकारीहरूले विपन्न वर्गलाई उठीबास लगाइरहेको बेला स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर आफ्ना जनतालाई धम्क्याउनु ठिक नभएको दुर्गा प्रसाईँले बताएका छन् । लघुवित्त र सहकारीहरूको बेथितिविरुद्ध आन्दोलनको अगुवाइ प्रसाईँले गर्दै आएका छन्।
