बिर्तामोडमा टोल सुरक्षाका लागि युवा समूहको रात्रिकालीन गस्ती
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका- १ का युवाहरू गाउँको सुरक्षाका लागि रात्रिकालीन गस्ती गरिरहेका छन् । गाउँघरमा रात्रिकालीन हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न युवाहरू क्रियाशील भएका हुन् ।
बिर्तामोड- १ मा रहेको गौरी, नारायण र पूर्वी शान्ति टोलका युवाहरू संयुक्त रुपमा गस्ती गर्दै आएका छन् । संयुक्त टोल सुरक्षा दस्ता बनाएर सुरक्षार्थ खटिँदै आएको दस्ताका एक अगुवा विमल भट्टराई बताउँछन् । उनका अनुसार तुलसीराम मैनाली , रमेश अधिकारीसहितको अगुवाइमा सुरक्षा गस्ती परिचालन भइरहेको छ । हरेक दिन राती ९ बजेबाट गस्ती गर्ने गरेको भट्टराईले जानकारी दिए ।
आफ्नो टोललाई चोरी डकैती, घुसपैठ, लागु औषध दुर्व्यसन, कुटपिट मारामारबाट सुरक्षित बनाउन गस्तीको सुरुवात गरिएको उनको भनाई छ । गाउँ टोलमा लागुऔषधको किनबेच, प्रयोगकर्ता भेटिने बित्तिकै प्रहरीमा बुझाउने गरिएको छ, भट्टराईले भने – हामीले निगरानी गर्ने हो । केही कैफियत भेटिएमा प्रहरीलाई सम्पर्क गरेर बुझाइदिन्छौ ।
हालसम्म उनीहरूले लागु औषधमा संलग्नहरूलाई प्रहरीसम्म बुझाएका छन् । उनका अनुसार सिने प्लाजा क्षेत्रमा कोठा भाडामा लिई यौन धन्दा सञ्चालन गर्नेलाई समेत प्रहरीमा बुझाइएको छ । कोठा भाडामा लिएर यौन व्यवसाय सञ्चालन गरेको थाहा पाएपछि निगरानी गरेर प्रहरीलाई खबर गरियो, उनले भने । एक जोडीलाई विवाह गर्ने हो हामी भनेपछि छोडिएको थियो, गस्ती दस्ताका एक सदस्यले इजलासलाई जानकारी दिए ।
राती आवश्यकताको आधारमा समय निर्धारण गरेर गस्ती गर्दै आएको दस्ताले लाठीसहित परिचालित हुने गरेको छ । उनीहरूले कसैलाई पनि असभ्य व्यवहार नगर्ने, सभ्य ढङ्गबाट सोधपुछ गर्ने गरेको बताएका छन् । एक महिनादेखि सुरु गरेको सुरक्षा दस्ताको अभियानलाई निरन्तरता दिने उनीहरूको योजना छ । टोलको सुरक्षामा खटिएको सो समूहमा करिब ८० जना आबद्ध रहेको बुझिएको छ ।